Sajhamanch Archive

चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली

Published: (Updated: ) in मुख्य समाचार by .

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर उच्च भएपछि विश्व स्वासथ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

वैदेशिक रोजगारी र अध्ययन गर्न गएका दक्षिण कोरियामा वैधानिक र अवैधानिक गरेर झन्डै ५० हजारको हाराहारीमा नेपाली नागरिक रहेका छन् । संक्रमण उच्चरुपमा फैलिएको देगु शहरमा १ हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । संक्रमण र मृत्युको बढ्दो तथ्यांकले त्यहाँ रहेका नेपालीहरुले मनोवैज्ञानिक त्रास बढेको बताएका छन् ।

देगुको एक कपडा कम्पनीका काम गर्ने सञ्जय केरुङका अनुसार देगुमा काम गर्ने नेपालीहरु डरको कारण कम्पनीबाट बाहिर निस्किन छाडिसकेका छन् । कम्पनीले पनि अति आवश्यक काम बाहेक बाहिर ननिसक्न आग्रह गरेको छ । संक्रमणको डर भए पनि कम्पनीले बिदा नदिएको कारण काम गर्नुपरेको सुनाउँदै उनले भने, ‘कम्पनीभित्र कसैलाई संक्रमण नभएकाले डर मानी मानी भए पनि काम गरिरहेका छौँ, अरु कम्पनिको साथीले पनि बिदा पाएका छैनन्।’

उनका अनुसार उनी कार्यरत कम्पनीमा ७ जना नेपाली काम गर्छन्। त्यसै गरी त्यही शहरका अन्य नेपाली कामदारहरुसँग पनि उनको कुराकानी हुन्छ । उनीसँग सम्पर्कमा रहेका अधिकांश साथीहरु पनि त्रसित नै छन् । उनीहरुको एउटै स्वर छ — ‘सरकारले उद्धार गरे देश फर्कने हो, नत्र हामी मजदुर आफ्नो खर्चले फर्कन सक्दैनांै ।’

केही भवितव्य आइलाग्नुअघि सरकारले उद्धार गर्ने आश रहेको उनले सुनाए । भने, ‘चीनबाट त उद्धार गरेको छ भने हामीलाई गाह्रो भयो भने पनि सरकारले उद्धार गर्ला नि ।’संक्रमण सुरु भएको कोरियाको राजधानी सोलमा मात्र २३ जनालाई संक्रमण पुिष्ट भएको छ । त्यही शहरमा रहेका निशान कार्की संक्रमणले उग्र रुप लिए त्यहाँ पुगेका धेरै नेपाली कामदार र विद्यार्थीको अवस्था नाजुक हुने बताउँछन् ।

उनका अनुसार कोरियामा संक्रमण फैलिएको समाचार बाहिरिनासाथ सडकमा मानिसको चहलपहल पातलो भएको छ । बजार तथा रेस्टुरेन्टमा मानिसको भिड कम छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि कोरोनाकै चर्चा भएकाले डर बढ्दै गएको छ । नेपालबाट अभिभावकहरुले चिन्ता लिएकाले डर बढेको सुनाउँदै उनले भने, ‘त्यत्रो खर्च गरेर आएका छौं, बिचमै फर्कनुपर्‍यो भने तनाव हुन्छ ।’

कोरोनाको संक्रमण बढ्दै गएकाले भर्खरै कोरिया पुगेकाहरुलाई काम नपाउने तनाव रहेको सुनाउँछन् थेंगु प्रान्तमै रहेका विष्णु सापकोटा । अध्ययनका लागि गएका उनी काम नपाउँदा कलेजको शुल्क तिर्न नसक्ने सुनाउँछन् । काम गर्न मात्रै गएका भन्दा पनि विद्यार्थीहरुलाई गाह्रो हुने अवस्था आइसकेको उनको अनुभव छ । सापकोटा भन्छन्, ‘काम नगरे खान पनि पाइन्न, कलेजको फी तिर्न पनि सकिन्न ।’

यो अवस्थामा घर फर्कने निर्णय गर्न नसक्ने बताउँदै उनले भने, ‘त्यत्रो ऋण गरेर भर्खरै आएको नेपाल फर्किनुपर्‍यो भने भने त डुबिन्छ नै, यहाँ बस्न नि डरमर्दो छ । के गर्ने, सोच्न सकेको छैन।’

कोरियाको एक मोटर वर्कसपमा कार्यरत निर्मल मगरका अनुसार अहिले त्यहाँ रहेका नेपालीहरुमा डर बढेको छ । उनका अनुसार केही कम्पनीहरुले बिदा दिए पनि धेरैजसो नेपालीले बिदा पाएका छैनन् । उनले भने, ‘धेरै साथीहरुले बिदा माग्न थालेका छन्, तैपनि बिदा नपाएकाले तनाव छ ।’ अनलाइन खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *