Sajhamanch Archive

गरामनी क्याम्पसको अब आफ्नै भवन, महान्यायाधिवक्ताले गरे शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । शुक्रबार एक समारोहका बीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने आवश्यकता औंल्याए । जनतालाई शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको पनि महान्यायाधिवक्ता खरेलले बताए ।

२०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकाय सञ्चालन छ जहाँ १२५ जना विद्यार्थी अध्ययनरत छन् । भवन अभावका कारण हाल क्याम्पसको पठनपाठन वडा नम्बर ९ मा रहेको दुर्गा माविमा भइरहेको छ । माविमा क्याम्पसको पठनपाठन हुॅदा समस्या उत्पन्न भइरहेको थियो ।

उद्यमी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड– ७ मा २ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ९ कठ्ठा जमिन दान गरेपछि क्याम्पसको ब्यवस्थित भवन निर्माण शुरु भएको हो । पाण्डे परिवारले क्याम्पस सञ्चालनको लागि एक करोड रुपैयाँको अक्षयकोष पनि स्थापना गरिदिएका छन ।

भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले ५० लाख रुपैयाँ बिनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अर्को वर्षमा थप बजेट बिनियोजन गरेर निर्माण सम्पन्न गरिने ऊनले बताए ।

क्याम्पस प्रमुख केशव रेग्मीले भवनको ५ कोठा यो वर्षको असार मसान्तसम्ममा सकिने र अर्को वर्ष क्याम्पसको संरचना निर्माण सम्पन्न गरिने बताए । क्याम्पस प्रमुख रेग्मीले भवनको अभावमा पनि सो शैक्षिक प्रतिष्ठानले कसरी शिक्षा प्रवाह गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए।

बिर्तामोड नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पवित्रा पाठकले स्वागत गरेको भवन शिलान्यास कार्यक्रमको अध्यक्षता क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेश सांसद एकराज कार्कीले गरेका थिए ।

भवन शिलान्यास कार्यक्रममा मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं लगायतले बोलेका थिए। कार्यक्रमको संचालन जय तिम्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *