Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा भट्टराईले उम्मेदवारी दिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन हुने तालिका छ ।

नेपाल अलैंची व्यवसायी महासंघको शुक्रबार सम्पन्न कार्यसमिति बैठकले निवर्तमान अध्यक्ष भट्टराईलाई केन्द्रीय सदस्य पदमा उठाउने निर्णय गरेसँगै शनिबार बिर्तामोडमा आयोजित घोषणासभामा भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

महासंघले नै आयोजना गरेको उम्मेदवारी घोषणासभामा महासंघका अध्यक्ष राजकुमार कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गरेका झापामा क्रियाशील पाँचवटा वस्तुगत संघहरुको सहमति र समर्थनमा आसन्न निर्वाचनका लागि वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा भट्टराईको उम्मेदवारी रहने घोषणा गरे ।

भट्टराईलाई जिल्लामा क्रियाशील नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल चिया उत्पादक संघ र नेपाल भेनियर उत्पादक संघले समर्थन जनाएका छन् ।

उम्मेदवारी घोषणासभामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष एवम् नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्का, सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा, भेनियर संघका अध्यक्ष दीपक पाण्डेलगायतको उपस्थिति थियो । वस्तुगततर्फ महासंघको केन्द्रीय पदाधिकारीमा पूर्वले पहिलोपटक दाबी गरेको बताउँदै प्रदेश अध्यक्ष खड्काले भट्टराईलाई विजयी गराउन सबै वस्तुगत संघहरु एकताबद्ध हुनुपर्ने बताए ।

सुपारी खेती विकास संस्थाका अध्यक्ष खतिवडाले पनि महासंघमा वस्तुगत तर्फका समस्याहरु पुर्याउन र समाधानको उपाय खोज्न राम्रो अवसर आएको बताउँदै भट्टराईलाई जिताउन कुनै कसर नराखिने बताए भने भेनियरका अध्यक्ष पाण्डेले पनि आफ्नो संघको सक्रिय साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

झापाको कृषि, उद्योग–वाणिज्य एवम् निर्यात व्यवसायमा निर्मल भट्टराई सफल व्यक्तित्वका रुपमा परिचित छन् । बिर्तामोड उद्योग वाणिज्य संघमा कोषाध्यक्ष पदमा रहेर उद्योग–वाणिज्य क्षेत्रमा पनि आफ्नो सक्रिय सहभागिता दर्शाएका उनले वीरता जेसीजजस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थामा पनि अध्यक्षको भूमिकामा कुशल नेतृत्व प्रदान गरिसकेका छन् भने रेडक्रस, रोटरी, लायन्सजस्ता सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय छन् ।

घोषणासभामा उम्मेद्वार भट्टराईले वस्तुगत संघको नेतृत्व तहमा रहेर आफूले वस्तुगत संघ, यसमा आबद्ध व्यवसायी र किसानहरुसमेतको समस्या र भावनालाई नजिकबाट बुझेकोले आफू विजयी भए समस्या समाधानका लागि महासंघमा आफूले इमान्दार भूमिका निर्वा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघमा देशभरिबाट १०१ वटा वस्तुगत सदस्य आबद्ध रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *