Sajhamanch Archive

उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले

Published: (Updated: ) in समाज by .

पाँचथर  । विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् ।

नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारतीय अवरोध हटाउन पहल गर्नुपर्ने माग समेत गरेका छन् ।

नेपाली उत्पादन निकासी हुन नसके भारतीय उत्पादनको आयात समेत रोकिनुपर्ने, अनाधिकृत बिषादीको प्रयोगमा बन्देज लगाउनुपर्ने माग राख्दै यहाँका कृषकहरुले टमाटर सडकमा फालेर सांकेतिक विरोध जनाएका हुन् ।

अघिल्लो बर्ष यही सिजनमा प्रतिकिलो ७० रुपैँयामा विक्री भएको टमाटर निकासीमा भारतीय अवरोधका कारण यस बर्ष २ रुपैँया प्रतिकिलोमा समेत नविकेको कृषकहरुको गुनासो छ ।

हिलिहाङ–१ का कृषक तथा टमाटरका व्यवसायी लिलानाथ ढकालका अनुसार गत वर्ष यही सिजनमा ७० रुपैयाँ भन्दा बढीमा विक्री हुने गरेको टमाटर यसवर्ष २ रुपैँयामा समेत विक्री हुन सकेको छैन् ।

अघिल्लो वर्ष हिलिहाङको अमरपुरबाट मात्रै २ करोड भन्दा बढी मूल्यको टमाटर विक्री भएको तर यस वर्ष टमाटरमा प्रयोग गरिएको मलको मूल्य समेत उठ्न नसकेको दुःखेसो कृषकहरुको छ ।

“गत वर्ष टमाटर आकर्षक मूल्यमा विक्री भएपछि यस वर्ष उत्पादनलाई दोब्बर बनाएको थिएँ” याङवरक गाँउपालिका–६ नागीका कृषक डम्बर भारती “तर यस वर्ष टमाटर खेतीमा चुर्लुम्म डुवियो ।” ४ रोपनी जमिनमा ३२ सय विरुवा लगाएको १ लाख बढी लगानी गरेको सुनाउँदै भारतीले टमाटर विक्री नभएपछि लगानी समेत डुबेको वताए ।

सरकारले पकेट क्षेत्रको घोषणा गरेसँगै टमाटरले जीवनस्तर उकासेका यहाँका किसान यो वर्ष भोकभरी नै चल्न सक्ने अनुमान लगाउँछन् । मुख्य नगदेबालीका रुपमा टमाटर रोप्न थालेपछि आफ्ना बारीमा मकै, कोदो, फापर लगायतका बाली समेत नलगाई टमाटर लगाएको उनीहरुको भनाई छ ।

टमाटरबाट आम्दानी लिन नसकेपछि आफूहरुलाई अनिकाल नै लाग्ने चिन्ता लागेको हिलिहाङ–२ का कृषक प्रकाश उप्रेतीको भनाइ छ । विगतमा दैनिक १० ओटासम्म पिकअपले टमाटर उठाए लैजाने गरेका थिए । तर, भारतीय अवरोधपछि टमाटर विक्री हुन सकेको छैन । व्यवसायीहरुले नेपालकै विभिन्न बजारमा टमाटरको बजार खोजेका छैनन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *