Sajhamanch Archive

अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ ।

कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ । अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्रा्ष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन् ।

नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो ।

चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ ।

कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ ।

अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन् । यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ । अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ । यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा थप असर पर्न थालिसकेको जानकारी दिए । ‘अहिले सुरुमा पर्यटक आगमन र यातायातमा असर देखिएको छ । होटल सुनसान छन्,’ निर्देशक भण्डारीले भने, ‘यसले हाम्रो सेवा क्षेत्रमा असर पर्न थालिसकेको छ ।’

भण्डारीका अनुसार कोरोनाका कारण सेवा क्षेत्रको हाम्रो लक्षित प्रगति हासिल हुनेमा शंका उत्पन्न भएको छ । ‘कोरोना समस्या विश्वभर कति समयसम्म रहन्छ, असर पनि सोही अनुसार हुनेछ,’ भण्डारीले भने, ‘विश्व अर्थतन्त्रमा आएको असरबाट हामी अछुतो हुन सक्दैनौं तर मात्रा फरक पर्नेछ ।’

कोरोनाको प्रत्यक्ष असर कृषिबाहेक सबै क्षेत्रमा कमबेसी पर्न सुरु गरिसकेको छ । अहिलेसम्म कोरोनाले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा देखिएको छ । जनवरीमा २ प्रतिशतभन्दा बढीले पर्यटक घटेका छन् । यो तथ्यांक फेब्रुअरीमा झनै घटेको छ । अहिले मुलुकका प्रमुख पर्यटकीय क्षेत्र सुनसान छन् ।

स्तरीय होटलको अकुपेन्सीदरमा ८० प्रतिशतसम्म कमी आएको छ । चितवन सौराहाका कतिपय होटलले पर्यटक नआएपछि कर्मचारीलाई बिदा दिएका छन् । कतिपय वायुसेवा कम्पनीले उडानतालिका कटौती गरेका छन् । सरकारले कोरोना बढी प्रभावित जापान, कोरिया, इटाली, इरान जस्ता मुलुकका नागरिकलाई आगमन भिसा नदिने भनेको छ ।

नेपालीलाई पनि अतिआवश्यकबाहेक स्थानमा वैदेशिक भ्रमणमा नजान भनेको छ । सरकारले चीनसँगका सबै व्यापारिक नाका बन्द गरेको छ । चीनसँगको आयातनिर्यात पनि ठप्प छ । नागरिक दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *