Sajhamanch Archive

१०० वर्षको उमेरमा राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको १०० वर्षको उमेरमा बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी सन् १९२० को जनवरी १९ मा पेरुको लिमामा जन्मिएका थिए । उनले २० वर्षको उमेरमा नै पेरुको विदेश मन्त्रालयबाट कूटनैतिक करियर सुरु गरेका थिए । उनी बेलायत, बोलिभिया, स्विजरल्यान्ड, तत्कालीन सोभियत युनियन, पोल्यान्ड र भेनेजुएलाका लागि समेत राजदूत बनेका थिए ।

उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन् । सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए । आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो ।

सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् २००५ मा हृदयघातका कारण अस्पताल भर्ना भएका उनी निकै लामो समय सक्रिय रहन सकेनन् । सन् २००० को नोभेम्बर २२ देखि सन् २००१ को जुलाई २८ सम्म उनले पेरुको प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *