Sajhamanch Archive

आरएमडीसी र झापाका सहकारी संस्थाहरुबीच अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका कार्कीले उक्त कुरा बताएका हुन् ।

झापा जिल्ला सहकारी संघको आयोजना तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा मन्त्री कार्कीले सहकारीका माध्यमबाट कृषि, व्यापार, उद्योग लगायतका क्षेत्रको स्थापना गरी गरिबी निवारणका लागि उल्लेखीय काम भइरहेको बताए । सहकारीलाई नेपालको अर्थतन्त्रमा महत्वपूर्ण स्थान दिइएको सन्दर्भ केलाउँदै मन्त्री कार्कीले राज्यको तर्फबाट आफ्नो कर्तव्य पूरा गर्दै अभियन्ताहरुको भावनाको कदर गर्ने विश्वास दिलाए । प्रदेश सरकारले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि गर्नुपर्ने नीतिगत निर्णयहरु, वार्षिक नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटमा समावेश गर्ने आश्वासन दिँदै मन्त्री कार्कीले अभियानले उपलब्ध गराएको कार्यक्रमबारे छलफल गर्न आफू तयार रहेको बताए ।

वित्तीय पहुँच अभिवृद्घि तथा उद्यमशिलाको विकास मार्फत देशमा आत्मनिर्भरता अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संघ–संस्थाहरुको साझेदारीका साथै सहकारी संस्थाहरुले सामना गर्नुपरेका वर्तमान समस्या तथा चुनौतीहरुका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

झापाका ४७ वटा सहकारी संस्थाबाट करिब १०० जनाको प्रतिनिधित्व रहेको अन्तरक्रिया कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धक पृथबहादुर थापाले आरएमडीसीको परिचय, उद्देश्य, सञ्चालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्यूनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराएका थिए । आरएमडीसीले सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेको अवगत गराउँदै वरिष्ठ प्रबन्धक थापाले वित्तीय सुशासन कायम नगर्ने, नीति नियमभन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमा पनि प्रस्तुत हुने गरेकोले आरएमडीसी एउटा ब्राण्डको रुपमा रहेको अवगत गराए ।

आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, वित्तीय पहुँच अभिवृद्धि गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा वरिष्ठ प्रबन्धक थापाले चर्चा गरेका थिए ।

अन्तरक्रियामा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुले एउटै कार्यक्षत्रमा एकै प्रकृतिका धेरैवटा संस्थाहरु रहँदा सदस्यहरु दोहोरिने तथा कर्जा कारोबार पनि दोहोरो तेहेरो हुँदा कर्जाको गुणस्तरमा ह्रास आइरहेको गुनोसो सुनाएका थिए । सहभागीहरुले बिना धितो कर्जा लगानीमा अस्वस्थ प्रतिष्पर्धा रहेको पनि जिकिर गरे । यस्तै ठूला सहकारीहरुले सेवा केन्द्रका नाममा ठाउँठाउँमा शाखा बिस्तार गरेर सानो वित्तीय कारोबार भएका सहकारीमाथि उठ्नै नसक्ने गरी असर पुर्याइरहेको पनि सुनाइएको थियो ।

सहभागीका समस्या र गुनासाहरु सुनेपछि आरएमडीसीका वरिष्ठ प्रबन्धक थापाले सहकारी संस्थामा असल र राम्रो मान्छे भन्दा पनि कुमान्छेले विभिन्न सदस्य बन्ने र कर्जा लिएर हराउने प्रवृत्ति बढ्दो रुपमा रहेको बताए । उनले देशमा असल संस्था भए विकास सम्भव हुन्छ र जब देशका ३५ हजार सहकारी एकजुट हुन्छन् अनिमात्र देश समृद्धिको बाटोमा जानसक्ने जिकिर गरे ।

झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सहकारी संघ–संस्थाको एवम् सदस्यहरुको हकहित, संस्थागत विकास तथा क्षमता अभिवृद्धि गर्न, वित्तीय पहुँच अभिवृद्धि गर्न संघ सधैं तयार रहेको बताए । उनले अन्तरक्रिया कार्यक्रमबाट वित्तीय पहुँच अभिवृद्धिका लागि आधार बन्न सकोस् भन्ने अपेक्षासहित आरएमडीसीसँग साझेदारी गर्न चाहने संस्थालाई संघले पनि समन्वय गर्ने प्रतिवद्धता जनाए ।

सो अन्तरक्रियामा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी, सिआइएका अध्यक्ष दुर्गाप्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो । संघका सहसचिव भवानीप्रसाद दङ्गालले मन्तव्यबाट स्वागत गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *