Sajhamanch Archive

मेची पारिको नेपाली भूमि संकटमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ ।

वि सं २०४० साल अगाडिसम्म विद्यालय रहेको जमिनभन्दा एक किलो मिटर पूर्वमा रहेको खोल्सी यता नेपाल पर्दथ्यो तर ३६ वर्ष बीचमा विद्यालय भवनमै भारतीय पक्षले सीमा पिलर गाडिएको अवस्था छ । सो विद्यालय नभएको भए मेची नदीपारि नेपालको भूमि रहँदैनथ्यो भन्छन् स्थानीय बासिन्दा । हुन त मेची नदीले छुट्याएकै कारण विकासका सबैखाले पूर्वाधारहरूबाट बञ्चित सो गाउँका बालबालिकालाई सुविधाजनक ढंगले शिक्षा प्राप्त गर्न समेत समस्या छ ।

२०४४ सालमा स्थापित सो विद्यालयमा हाल १३२ विद्यार्थी अध्ययन गर्छन् । ७ कक्षासम्म पढाइ हुने सो विद्यालयमा बाल विकास कक्षातर्फ मात्र ३७ जना विद्यार्थी छन् । विद्यालयबाट केही मिटर पूर्व भारतसँगको खुला सिमाना रहेका कारण भारतीय विद्यार्थीले पनि सो विद्यालयबाट शिक्षा प्राप्त गरिरहेको संस्थापक शिक्षक कैलास राईले जानकारी दिए । उनका अनुसार त्यहाँ ८ जना शिक्षक कार्यरत छन् । विद्यालयले एक विगाहा क्षेत्रफल भोगचलन गर्दै आए पनि सो जग्गा विद्यालयको स्वामित्वमा छैन ।

राजमार्गलाई मेची पारिको सो गाउँसम्म जोड्ने गरी भद्रपुर ३ मै मेची नदीमा झोलुंगे पूल निर्माणाधीन छ तर निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा नाघेको ३ वर्ष हुन लाग्यो पुल नक्सामा सिमित छ । पुल सम्पन्न हुन नसक्दा वर्षातमा शिक्षक–विद्यार्थी र त्यहाँका वासिन्दाले ठूलै कठिनाइ व्यहोर्नु परिरहेको शिक्षक राई बताउँछन् ।

५ बर्षअघि शिलान्यास भएको मेची नदीको झोलुङ्गे पुल निर्माण सम्पन्न नभएर अलपत्रमा परेको छ । निर्माण कम्पनीको चरम लापरवाही र सम्बन्धित निकायको वेवास्ताका कारण झण्डै तीन करोड रूपैयाँ लागतकोे झोलुङ्गे पुल अलपत्र पारिएको हो । मुलुकमा स्थायी सरकार आएसँगै जनप्रतिनिधिले जिम्मेबारी सम्हालेको तीन वर्ष वित्तन लागेको छ । तर, विकटमा पिल्सिएका नागरिकको पीडामाथि सम्बोधन हुन सकिरहेको छैन । भौगोलिक रूपमा सदरमुकामसँग जोडिन नसकेको मेचीपारिको सो गाउँलाई विशेष प्राथमिकतामा राखिनुपर्ने स्थानीयको माग छ । गाउँमा कक्षा १० उत्रीर्ण गर्ने नागरिकको संख्या ५ पनि कट्न सकेको छैन । हिउँदमा नेपाली भूमि आवत जावतमा सहजता भए पनि वर्षादमा सदरमुकाम आउन भारतीय भूमिको साहरा नलिइ उपाय छैन । कृषिमा आश्रित ५ सय परिवार वसोबास गर्ने यस गाउँमा नेपाल सरकारको अनुभूति कम हुने गरेको स्थानीय बताउने गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *