Sajhamanch Archive

पाँच नाकाबाट भित्रिए ४८१ बुलेट ग्यास

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौं लगायतका सहरमा ग्यासको हाहाकार देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको छ ।

नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन (शुक्रबारसम्म) मा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । निगमकाअनुसार चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ ।

कुन भन्सारबाट कहिले कति ग्यास भित्रियो ?

वीरगञ्जबाट दुई दिनमा २ सय १० बुलेट, विराटनगर भन्सारबाट चार दिनमा ६६ बुलेट, भैरहवा भन्सार भन्सार कार्यालय भएर तीन दिनमा १ यस ५३ बुलेट, नेपालगञ्ज भन्सार भएर तीन दिनमा ३० बुलेट र काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ ।

वीरगञ्ज भन्सार

वीरगञ्ज भन्सार नाका भएर दुई दिनमा २१० बुलेट ग्यास नेपाल भित्रिएको आयल निगमले जनाएको छ । वीरगञ्ज नाकाबाट फागुन २९ गते ९२ बुलेट भित्रिएको थियो, जसमध्ये काठमाडौंका लागि ४० र अन्यत्र ५२ बुलेट ग्यास पठाइएको थियो । यस्तै फागुन ३० गते ११८ बुलेट भित्रिएकोमा काठमाडौंका लागि ५१ र अन्यत्रका लागि ५७ बुलेट पठाइएको निगमले जनाएको छ ।

बिराटनगर भन्सार

बिराटनगर भन्सार नाका भएर पछिल्लो चार दिनमा ६६ बुलेट ग्यास भित्रिएको छ । फागुन २६ गते ३६, २८ गते ११, २९ गते ५ र ३० गते १४ बुलेट ग्यास भित्रिएको निगमले जनाएको छ । जसमा सुगम कम्पनीको ८, कोसीको २९, प्रिमाको १०, मारुतीको १४ र रिजाल गयास उद्योगको ५ बुलेट रहेको निगमले जनाएको छ ।

भैरहवा भन्सार

भैरहवा भन्सार नाका भएर तीन दिनमा १५३ बुलेट ग्यास भन्सार पास भएर नेपाल भित्रिएको निगमले जनाएको छ । फागुन ८ गते २५, २९ गते १६ र ३० गते २५ बुलेट ग्यास भन्सार पास भएको थियो ।

नेपालगञ्ज भन्सार

तीन दिनमा नेपालगञ्ज भन्सार नाका भएर ३० बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार २८ गते जम्मा ११ बुलेट ग्यास यो नाकाबाट आएको थियो जसमा भेरी ग्यास उद्योगको सात, मनकामनाको तीन र राप्ती ग्यास उद्योगको एउटा बुलेट थियो ।

बिहीबार २९ गते ६ बुलेट ग्यास यो नाका भएर भित्रिएको छ जसमा भेरी र राप्तीका ३(३ बुलेट छन् । यस्तै ३० गते यो नाकाभएर १३ बुलेट ग्यास नेपाल भित्रिएका छन् जसमा भेरीको ९ र मनकामना ग्यास उद्योगको ४ बुलेट रहेको निगमले जनाएको छ ।

काँकडभिट्टा भन्सार

झापाको काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास भित्रिएको निगमले जनाएको छ । २७ गते चार बुलेट ग्यास सो नाका भएर भित्रिएको थियो । जसमा मेची ग्यास उद्योगको एक, र कन्काईको ३ बुलेट थियो । यस्तै २८ गते पराजुली ग्यास उद्योगको मात्रै ६ बुलेट भन्सार पास भएको थियो । २९ गते मेचीको ४, पाथीभराको एक र कन्काईको ४ बुलेट गरी जम्मा ९ बुलेट ग्यास भित्रिएको थियो । ३० गते मेचीको २ र पाथीभराको एउटा बुलेट ग्यास नेपाल भित्रिएको छ ।

कुल आयातको ७० प्रतिशत काठमाडौं केन्द्रित

काठमाडौंमा ग्यासको माग अत्यधिक भएपछि तत्कालका लागि कुल आयातको ७० प्रतिशत काठमाडौं केन्द्रित गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्र कुमार पौडेलका अनुसार काठमाडौंमा रित्तो सिलिण्डर देखाउन थालिएपछि काठमाडौं केन्द्रित आपूर्ति बढाइएको हो ।

भारतबाट आयात निरन्तर रहे पनि ग्राहकको त्रासलाई चिर्न र आपूर्ति सहज छ भन्ने सुनिश्चिततता प्रदान गर्न काठमाडौंलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए । करिब एक सातामा काठमाडौंको त्रास कम भएपछि अन्य शहरमा पनि प्रशस्त मात्रामा ग्यास आपूर्ति बढाउन निगम लागिपरेको उनले बताए । ‘अहिलेसम्मकै धेरै ग्यास मुलुकमा आयात भएकाले ग्यास प्रशस्त मात्रामा उपलब्ध हुन्छ, ग्राहक आत्तिनु पर्दैन,’ पौडेलले भने ।

नेपालमा मासिक कुल ३८ लाख मेट्रिकटन ग्यास खपत रहे पनि निगमले यसलाई बढाएर मासिक ५० लाख मेट्रिकटन पुर्‍याइएको कार्यकारी प्रमुख पौडेलले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *