इलाममा डेरी उद्योगमा आगलागीः लाखौंको क्षति अनुमान
Published:
by .
पशुपतिनगर (इलाम) । इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ४ मङ्गलबारे बजार नजिकैको गजुरमुखी दर्शन डेरी उद्योगमा आज दिउँसो आगलागी भएको छ ।
आज दिउँसो ३ बजेदेखि शुरु भएको आगलागीबाट डेरी उद्योगमा रहेको दूध पेल्ने मेसिन, दूधजन्य कच्चा सामग्री, उत्पादित घिउ, छुर्पी लगायतका सामान जलेर नष्ट भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ तर ७०–७५ लाख रुपैयाँ बराबरको क्षति प्रहरीले जनाएको छ ।
सो डेरी उद्योग अशेष बुढाथोकीले सञ्चालन गरेका हुन् । उनी जिल्ला बाहिर भएकाले नोक्सानीको विवरण र मूल्याङ्कन फरक पर्ने अनुमान गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । के कारणले डेरी उद्योगमा आगलागी भयो भन्ने खुलेको छैन, प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
Comments