Sajhamanch Archive

प्रचण्डलाई थप्पड हान्ने कुँवरलाई अभद्र व्यवहारको अभियोग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको हो ।

बानेश्वरका प्रहरी प्रमुख डीएसपी दुर्गाराज रेग्मीले प्रशासनले अनुसन्धानका लागि ७ दिन म्याद दिएको बताए । कुँवर सात वर्ष अघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप्पड हानेर चर्चामा आएका थिए ।

के भएको थियो ?

प्रहरी अधिकृतहरुका अनुसार शनिबार संसद भवनको शौचालयमा प्रवेश गर्न खोज्दा कुँवरको सुरक्षाकर्मीसँग विवाद भएको थियो । विवाद बढ्दै गएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् । कुँवर संलग्न विगतको घटनाले पनि प्रहरीलाई झस्काएको अधिकृतहरु बताउँछन् ।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए ।

यसपटकको उनी के नियतले संसद भवन छिरेका थिए भन्ने खुलिसकेको छैन । प्रारम्भिक बयानमा उनले ‘ठूला मान्छेहरु भेट्न पाइन्छ कि भनेर छिरेको’ भनेका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *