Sajhamanch Archive

नौवटा बुँदामा लेखेर देउवाले गरे सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौवटा बुँदामा लेखेर सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सीमा नाका कडाइ गर्नुपर्ने उल्लेख गरेका छन्। देउवाले जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार गर्न पनि देउवाले अपिल गरेका छन्। ‘सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्‍न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याउन चाहन्छु’ विज्ञप्तिमा उल्लेख छ।

देउवाले कोरोनाको कारण पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै निजी क्षेत्रको मनोबल उच्च राख्‍न बैंकको कर्जाको ब्याजदर घटाउन र ऋण चुक्‍ताको समयावधि थप्‍न पनि सरकारलाई आग्रह गरेका छन्। ‘पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमणपूर्वको असर भोगिरहेका छन्। समग्र निजी क्षेत्रको मनोबल उच्च राख्‍न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्‍न जरुरी आवश्यकता औँल्याउँदछु’ देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्तो छ देउवाको ९ बुँदे ध्यानाकर्षण

१. सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनै पनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औँल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।

२. सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आईसीयूसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याउन चाहन्छु ।

३. अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको ध्यानाकर्षण गराउन चाहन्छु ।

४. अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसँगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औँल्याउन चाहन्छु ।

५. सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने सङ्केत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।

६. पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमणपूर्वको असर भोगिरहेका छन् । समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औँल्याउँदछु ।

७. सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेषगरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवम् दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु ।

८. विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।

९. स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *