Sajhamanch Archive

प्रदेश २ को नामाकरण सकसः मध्य मधेस, जानकी र मिथिला अस्वीकृत

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला भोजपुरा र कांग्रेस सांसद राजेश्वरप्रसाद साहले अघि सारेको मध्य मधेस अस्वीकृत भएका हुन् । मतदानमा मध्य मधेसको पक्षमा ४२ मत, मिथिला भोजपुरा प्रस्तावको पक्षमा २८ मत र जानकीको पक्षमा ३७ मत मात्र परेको थियो।

नेकपा, नेपाली कांग्रेस र कांग्रेसकै सांसद साहले गरेको प्रदेशको नामको प्रस्ताव अस्वीकृत भएपछि अहिले प्रदेश २ को सत्तारुढ राजपा र समाजवादीले अघि सारेको ‘मधेस प्रदेश’ माथि मतदान भइरहेको छ । नामबारे फरक–फरक धारणा भएपछि मतदान भएको हो।

प्रदेश २ को प्रदेशसभामा १०७ सांसद छन्। सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ। प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मतदान भएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको थियो । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ। नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *