Sajhamanch Archive

परीक्षा केन्द्र हात धोइ मास्क लगाएर मात्र जानुस्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी भएसँगै विश्वका विभिन्न देशमा सावधानी बढाइएको छ । नेपाल सरकारले पनि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लिएर विशेष अनुरोध गरेको छ ।

नेपाल सरकारले परीक्षा केन्द्र जानुअघि हात धुन र मास्क (मुखावरण) लगाउन अनुरोध गरेको छ । सङ्क्रमण फैलन नदिन परीक्षा भवन पस्नुअघि स्वस्थ र सुरक्षित रहन सचेत गराएको हो ।

सरकारले बिहीबारदेखि सुरु हुने एसईईको सबै तयारी पूरा भएको बताएको छ । एक हजार ९ सय ९५ वटा सबै परीक्षा केन्द्रमा सुरक्षाको व्यवस्था, प्रश्न पत्र, उत्तरपुस्तिका लगायतका सामग्री पुर्‍याउनेदेखि जनशक्ति व्यवस्थापन समेतको काम पूरा भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि १७ गतेसम्म हुने परीक्षामा देशभरका चार लाख ८२ हजार दुई सय १९ जना विद्यार्थी सहभागी हुनेछन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै परीक्षा केन्द्रमा हेल्थ डेक्स समेत राखिने सरकारले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक अपिल सार्वजनिक गर्दै हेल्थ डेक्सको व्यवस्थापनका लागि सबै पालिकाहरुलाई अनुरोध गरेका छन्  ।

मन्त्री पोखरेलले विद्यार्थीहरुमा मनोवैज्ञानिक असर नपर्ने गरी स्वास्थ्य जाँच तथा सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेका छन् । उनले विद्यार्थीहरुलाई साबुन पानीले राम्रोसँग हात धुन, मास्क लगाउन पनि आग्रह गरे ।

यस्तै उनले परीक्षा केन्द्रमा भिडभाड नगर्न अभिभावक र विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *