कोभिड १९ संक्रमण हुन नदिन बिर्तामोडमा यस्तो तयारी (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो ।
आज बिहान नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको हो । । नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले नगरपालिकाको पूर्वतयारी बारे बैठकमा जानकारी गराउँदै थप के कस्ता कामहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाइएको हो ।
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको आकस्मिक सर्वपक्षीय बैठकमा राजनीतिक दलका नेताहरु, सामाजिक धार्मिक संघ–संस्थाका प्रतिनिधिहरु, नगरपालिका बोर्ड, कर्मचारीहरुको सहभागिता थियो । बैठकमा मेची आँखा अस्पतालमा ५० बेडको र कन्चनजङघा ईन्स्टिच्युट अफ हेल्थ साईन्सको भवनमा ४० बेडको क्वारेन्टाइन निर्माण गरिने भएको जानकारी दिइएको छ ।
सो भेलामा नेकपा बिर्तामोड नगरकमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईं बिर्तामोडको कृषिथोक बजारको भिडभाड नियन्त्रण गराउनुपर्ने, सङ्कटको बेला हुने सम्भावित कालोबजारी नियन्त्रण गर्नका लागि अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिए ।
नगरपालिका मातहत केही थान एम्बुलेन्स तयारी अवस्थामा राख्ने तथा तिनका चालकहरुलाई सुरक्षा प्रबन्ध मिलाउने, हरेक वडामा ५ वटाका दरले किराना पसल र सब्जी पसलहरु सूचीकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन उपयुक्त हुने सुझाव दिए ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले बिर्तामोड प्रवेश गर्ने नाकामा इन्फारेड थर्मोमिटर राखेर चेकजॉच गर्ने व्यवस्था मिलाउन, विदेशबाट आएका मानिसहरुको लगत संकलन गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिनुपर्ने सुझाए ।
जनप्रतिनिधिहरु एवम् राजनीतिक नेतृत्वले भेटघाटलाई पातलो बनाउने, टोल विकास संस्थाहरुलाई परिचालन गरी स्थानीय बासिन्दालाई सचेतना फैलाउने काम गर्नु उपयुक्त हुने बताए । सो बैठकमा उद्योगी, ब्यापारी, व्यवसायी, कर्मचारी, सामाजिक अभियन्ताहरुले विभिन्न सुझावहरु दिएका थिए । (हेरौं भिडियो) ।
सो बैठक पछि उपस्थितहरुको सल्लाह बमोजिक बिर्तामोडका सम्पूर्ण अस्पतालमा आइसोलेसन कक्ष बनाउन नगरपालिकाले निर्देशन दिएको जनाइएको छ । सम्भावित संक्रमितको उपचार गर्नका लागि आइसोलेसन निर्माणको काम शुरु गर्न अस्पताललाई अनुरोध गरिएको नगरप्रमुख शिवाकोटीले बताए ।
नगरपालिकाले बिदेशबाट आउने मानिसको रेकर्ड राख्न जनप्रतिनिधिलाई सक्रिय हुन अनुरोध गरेको छ । सबै टोल विकास संस्थालाई समेत कोरोना भाईरस नियन्त्रणका गतिविधिमा केन्द्रित हुन बैठकले अनुरोध गरेको छ ।
Comments