Sajhamanch Archive

नेपालमा थपिए अर्को एकजना कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा शुक्रबार अर्को एकजना कोरोना (कोभिड–१९) भाइरस संक्रमित भेटिएका छन्।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताए । काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनार्इ छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १३ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ३, पाटन अस्पतालमा ६ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ गरेर १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कान्तिबाट ६ र टेकु अस्पतालबाट पाँचजना गरी ११ जना डिस्चार्ज भएका छन्।

कोराना पुष्टि भएका दुईजनाको अझै पनि टेकु अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना परीक्षण गरिएका ८०२ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका पुरुष उपचारपछि स्वस्थलाभ गरी सामान्य जीवनमा फर्किएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *