Sajhamanch Archive

अमेरिका र इटालीमा संक्रमित एवम् मृत्यु दर बढेको बढ्यै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

झापा । विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हिजो शुक्रबार एकै दिनमा ४०२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । बिहीबार २५३ संक्रमितको मृत्यु भएको तथ्याङ्क थियो । अमेरिकामा हालसम्म एक हजार ३८० जनाको मृत्यु भएको जनाइएको छ ।

यसरी नै इटालीमा शुक्रबार ९१९ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणले इटालीमा हालसम्म आठ हजार २१५ जनाले ज्यान गुमाएका त्यहाँका अधिकारीहरुले बताएका छन् ।

कोराना भाइरसको इपिसेन्टर चीनमा भन्दा पश्चिमा राष्ट्रहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । चीनमा हालसम्म तीन हजार २९६ जनाको मृत्यु भएको छ ।

विश्वभर कोभिड १९ बाट पाँच लाख ५६ हजार ९१ जना संक्रमित भएका तथा एक लाख २८ हजार ७१७ जना निको भएको तथ्याङ्क छ । पछिल्लो जानकारीअनुसार कोरोना भाइरसबाट हालसम्म २५ हजार २३९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकाको ५० वटै राज्यमा कोभिड–१९ को संक्रमित पाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या एक लाख एक हजार २४२ पुगेको छ । यसअघि सबैभन्दा बढी संक्रमित चीन र इटालीमा थिए ।

सीएनएनले अमेरिकामा पछिल्लो दुई दिनमा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । न्यूर्योक र वाशिंगटन डी सी राज्यमा कोभिड–१९ संक्रमितको संख्या सबैभन्दा बढी भएको जनाइएको छ । अर्कान्सससहित कतिपय राज्यले न्यूर्योकबाट आउनेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समय कोभिड–१९ को केन्द्रबिन्दु बनेको पश्चिमा राष्ट्र इटालीमा भने एकैदिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । इटालीमा शुक्रबार ९१९ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

इटालीमा शुक्रबार पाँच हजार ९५९ जना नयाँ संक्रमित थपिएका छन् । जुन बिहीबारको तुलनामा कम हो । इटालीमा कुल संक्रमित ८६ हजार ५०० पुगेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले चिकित्सकीय उपकरणको विश्वब्यापी अभावले मृतकको संख्या बढ्दै गएको जिकिर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *