Sajhamanch Archive

कोभिड–१९ संक्रमणको आशंकामा भद्रपुरको एउटा परिवार आइसोलेसन र क्वारेन्टाइनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ ।

विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको कारण कोभिड–१९ संक्रमणको आशंकामा उनीसहित दुईजनालाई अस्पतालको आइसोलेशनमा र अन्यलाई क्वारेन्टाइनमा राख्नु परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

केही दिन अगाडि कतारबाट घर फर्किएका ती व्यक्तिले सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा समेत ज्वरो र रुघाखोकी देखापरेको थियो । भद्रपुर नगरपालिका वडा नं. ३ साविक महेशपुरका सो परिवारका सबै सदस्यलाई ज्वरो र रुघाखोकी आएपछि यस्तो कदम चालिएको हो । आशंकित दुई जनालाई अस्पतालको आइसोलेसनमा र चार जनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा पठाइएको सरूवा रोग नियन्त्रण समन्वय समिति श्रोतको भनाई छ ।

फागुन २९ गते सो परिवारका एक व्यक्ति कतारबाट घर फर्किएका थिए । तर उनको शारीरिक अवस्था सामान्य रहेकोले उनलाई घरमै राखिएको जनाइएको छ । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पिताम्वर ठाकुरले जानकारी दिएका हुन् ।

उनीहरूलाई शनिबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको डा. ठाकुरले बताए । कोरोना भाइरस संक्रमणको आशङ्कालाई पुष्टि गर्न दुवैजनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ ।

कतारबाट आएका ती व्यक्तिका बुबा र बहिनी अस्पतालको आइसोलेसनमा तथा आमा, श्रीमती, छोरा र छोरी क्वारेन्टाइनमा राखिएको सरूवा रोग नियन्त्रण समन्वय समिति श्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *