Sajhamanch Archive

बिर्तामोड नगरपालिकाद्वारा ५० लाख रुपैयाँको कोभिड–१९ कोष स्थापना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण विपन्नहरु भोकमरीमा पर्नसक्ने अवस्थालाई समेत ध्यान दिँदै यस्तो वर्गलाई खाद्यान्न वितरण गर्नका लागि कोषको परिचालन गरिनेछ । उक्त राहत कोषमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको भत्ता प्रदान गर्ने निर्णय भएको छ ।

विपद् व्यवस्थापन समितिको कोषमा जनप्रतिनिधिहरु तथा प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुले तलब भत्ता दिएर सहयोग गर्ने भएका हुन् । नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग गर्न विभिन्न संघ–संस्था र ब्यक्तिहरुलाई आह्वान गर्ने निर्णय भएको बिर्तामोड वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

उनले सहयोगीहरुबाट नगद र जिन्सी दुवै लिन सकिने निर्णय गरिएको जानकारी दिए । राहत कोषका लागि मंगलबार बैंक खाता खोलिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन गर्न कार्यविधि बनाएर नगरप्रमुख ध्रुबकुमार शिवाकोटी संयोजक, उपप्रमुख पवित्रा महतारा प्रसाई सहसंयोजक र सबै वडाध्यक्षहरु सदस्य रहने गरी नगरस्तरीय समिति गठन गरिएको वडाध्यक्ष सिटौलाले जानकारी दिए ।

समितिको आज सोमबार बसेको बैठकले नगरक्षेत्रमा बसोबास रहेका खानै नपुग्ने अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो । नगरका हरेक वडामा गठित टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र वडाले दिएको तथ्यांकलाई छानबिन गरी नगरपालिकाले राहत उपलब्ध गराउने जनाइएको छ ।

नगरपालिकाले विपन्न गरिव, असहाय र अशक्त पहिचान गर्न मापदण्ड नै बनाएको छ । बिर्तामोडमा कोरोना भाइरसको आशंकामा ३ जनालाई क्वारेन्टाइनमा र ५९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *