Sajhamanch Archive

अतिरञ्जित गरिएको विषयले कसैको व्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको भएमा म क्षमाप्रार्थी छु ः प्रसाईं

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले हिजोआज सामाजिक सञ्जाल तथा केही आमसञ्चारका माध्यममा आएका आफू सम्बन्धी गलत तथा अतिरञ्जित समाचारबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आज अपील प्रकाशन गरेका छन् ।

काठमाडौंस्थित कर्पोरेट कार्यालयबाट जारी अपीलमा डेढ वर्षअघि तत्कालिन अवस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर व्यक्त गरिएका भनाइलाई तोडमोड गरेर केही दिनदेखि केही मिडिया र सामाजिक सञ्जालहरुमा आफ्ना विचार तथा तर्कहरुलाई दुरुपयोग र अतिरञ्जित गर्ने काम भइरहेकोमा गम्भिर आपत्ती रहेको जनाएका हुन् ।

डेढ वर्ष अघि आफ्नो अनुभवको आधारमा स्वदेश मै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययन गर्ने अवसर नपाएर विदेशमा पढ्न जान बाध्य नेपालीहरुको दुःख र सास्तीको विषयको सूचनाहरुको सत्य तथ्य पत्ता लगाउनु पर्छ र त्यस्तो करुणादायी अवस्था छ भने हाम्रा नेपालका छोरा छोरीहरुको पीडामा न्याय दिनुपर्छ भनेर चिन्ता ब्यक्त गरेको विषयलाई केही दिन यता उसबेला भनिएको पूरै अभिव्यक्तिलाई नै नराखी काँटछाँट र तोडमोड गरेर बेमौषमी बाजा बजाउँदै अतिरञ्जित र विषयको संवेदनशीलतालाई दुरुपयोग गर्ने काम भइरहेकोमा उनले चिन्ता जनाएका हुन् ।

उनले आफ्नो अपीलमा भनेका छन् :

यो बीचमा म र मेरो परिवारको चरित्र हत्या गर्ने, मैले संविधान र कानुन सम्मत प्रयोग गरिरहेको नैसर्गिक अधिकारमा धावा बोल्ने, देशको नियम र कानुन बमोजिम तोकिएको मापदण्डमा रहेर ब्यापार, ब्यावसाय गर्नुलाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मानमर्दन हुनेगरी नाना प्रकारका आरोपहरु संगठित रुपमा कुप्रचार भइरहेका छन् ।

यहाँहरुलाई सर्वविदितै छ, मेडिकल शिक्षाका नाममा हाल देशमा अनावश्यक राजनीतिक स्वार्थ साँध्ने काम भइरहेको छ । ठीक यही मेसोमा धमिलो पानीमा माछा मार्ने समूहहरु संगठित रुपमा मेरो नैसर्गिक अधिकार माथि धावा बोलिरहेका छन् ।

कानूनी राज्यमा ढिलो चाँडो त्यस्ता समूहहरुको पहिचान हुने नै छ । कुनै पनि नागरिकको नैसर्गिक अधिकार माथि आक्रमण गर्ने त्यस्ता समूहहरु कानून बमोजिम दण्डको भागिदार हुने नै छन् । र, सत्य सेवा भावको मेरो सत्प्रयासमा न्यायको ढोका खुल्नेमा आशावादी समेत छु ।

मैले कतिपय परिस्थितिमा विशिष्ट घटनाहरुको विषयमा बोलेका कुरालाई सूचना प्रविधिको दुरुपयोग गर्दै सामान्यीकरण गरेर मेरो तेजोबध गर्ने कुराले म कुनै पनि हालतमा मेरो सत्यपथबाट बिचलित हुने छैन । किनकि म देश, जनता र सत्कर्मलाई सँधै मध्यनजर गर्दै सम्मान गर्ने गर्दछु ।

मेची अञ्चलका २९ लाख जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने अभियानमा म मेरो व्यक्तिगत क्षमता र बुताले भ्याएसम्म निरन्तर रुपमा लागिरहनेछु ।

अन्त्यमा, मैले विभिन्न समयमा विशिष्ठ र निश्चित घटनाका आधारमा बोलिएका कुराहरुको रुपमा लिइदिनुहुन, विषयलाई समग्रतामा बुझिदिनुहुन र व्यक्तिगत रुपमा नलिइदिनु हुन सरोकारवाला र आम सर्वसाधारणमा हार्दिक अपील गर्दछु ।

साथै कतिपय विशिष्ठ र निश्चित घटनाका विषयमा बोलिएका कुरा र विचारहरुले कसैको व्यक्तिगत र सामाजिक इज्जत–प्रतिष्ठामा आँच पुर्याउन खोज्ने आशय मेरो अन्तरमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु ।

बाहिर अतिरञ्जित गरिएको विषयले कसैको व्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै विज्ञप्तिमार्फत् सार्वजनिक गर्न चाहन्छु ।

देश, जनता र स्वास्थ्य शिक्षाकै पक्षमा लागिरहेको मेरो प्रयास र यथार्थतामा सबैले साथ दिनु नै हुनेछ भन्नेमा विश्वस्त छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *