Sajhamanch Archive

‘लकडाउन प्रभावित’लाई खाद्यान्न बाँड्न नेकपा झापाले दियो एक लाख रुपैयाँ सहयोग

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ ।

नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज शुक्रबार जिसस कार्यालयमा गएर एक लाख रुपैयाँको चेक जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई हस्तान्तरण गरेका हुन् । नेकपा झापाले यसअघिनै विज्ञप्ति मार्फत सहयोगको घोषणा गरेको र सोही अनुसार रकम हस्तारन्तरण गरिएको प्रचार विभाग उपप्रमुख सन्तोष आचर्याले बताएका छन् ।

कोरोनाबाट उत्पन्न परिस्थिति र लकडाउनका कारण जनजीवन दैनन्दिन कष्टकर बन्दै गइरहेको बेला पार्टीका तर्फबाट विषम परिस्थिति सामना गर्न सहयोग गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताएका छन् । यस्तो अवस्थामा खाद्यान्न अभाव हुन नदिन र उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति झापाले यसअघि स्थापना गरेको ५० लाख रुपैयाँको कोषमा सहयोग रकम जम्मा हुने र एकद्वार नीति अन्तरगत वितरण हुने पार्टी जिल्ला सचिब विजयकुमार साङपाङको विश्वास छ ।

झापा जिल्ला भारतसँगको खुल्ला सीमाका कारण उच्च जोखिममा पर्नसक्ने भन्दै सबैलाई सचेत र संयम हुन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । संक्रमणको जोखिम कम गर्न यतिबेला देश पूर्ण लकडाउनमा रहेको उल्लेख गर्दै सहयोग घोषणाका लागि विज्ञप्तीमा भनिएको छ– “यस्तो बेला दैनिक ज्यालादारी गरिखाने वर्गले खाद्यान्न संकट व्यहोर्नु पर्ने स्थिति हुन्छ ।’

यस्तो परिस्थितिमा सबैले संयम हुनुपर्ने र खाद्यान्न संकट व्यहोरिरहेका वर्गलाई सरकारको तर्फबाट चाँडो राहत उपलब्ध गराउनु पर्ने विज्ञप्ती मार्फत नेकपा झापाले माग गरेको छ । जारी विषम परिस्थितिमा पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई, सहयोगी, शुभेच्छुक सबैले संकटको सामाना गर्न स्वयमसेवीका रुपमा कार्य गर्नुपर्ने भएकाले सचेतनापूर्वक लाग्न विज्ञप्ती मार्फत नेकपा झापाले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *