सरकार भन्छः डा.केसीको तर्फबाट वार्ता गर्ने मान्छे पाइएन
Published: (Updated: )
by .काठमाडौं । सरकारले डा.गोविन्द केसीको माग पूरा गर्ने विषयमा कोसँग वार्ता गर्ने हो भनेर अन्यौलमा परेको जनाएको छ ।
अनशनरत डा.केसीको समर्थनमा दलहरूले झण्डा लिएर सडकमा आएका कारण वार्तामा कठिनाइ भएको प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।
उनले भने, ‘नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, मोहन वैद्यको नेकपा (क्रान्तिकारी माओवादी), गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी नेपालसहितले ऐक्यवद्धता जनाएका छन् । अब भन्नुस् कोसँग वार्ता गर्ने ? सरकार अन्यौलमा परेको छ ।’
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख राजनीतिक सल्लाहकार रिमालले डा.केसीका मागका विषयमा वार्ता गर्ने व्यक्ति नभेटाएको बताए ।
‘डा.केसी अनशनमा हुनुहुन्छ । उहाँको तर्फबाट वार्ता कसले गर्ने हो स्पष्ट भन्नुपर्छ’, रिमालले भने, ‘डा.केसीको तर्फबाट वार्ता गर्ने भनेर विवेकशील साझा पार्टीका नेताहरू आउँछन् । सरकारले कसलाई आधिकारिक मान्ने ?’
डा.केसीले कुन दलको हो भनेर भन्नु पर्ने बेला आएको उनले बताए । वार्ताका लागि दल वा डा.केसी कसको पक्षका मान्छे हुन् भन्ने कुरा थाहा भयो भने सरकारले सोही अनुसारको तयारी गर्ने सल्लाहकार रिमालले बताए ।
विवेकशील साझा पार्टी नेपालका नेता एवम् डा.गोविन्द केसीका तर्फबाट वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले आफू डा.केसीको नागरिक आन्दोलनको पक्षको व्यक्ति भएको बताए ।
‘म अहिले डा.केसीको मान्छे हुँ’, उनले भने, ‘डा.केसीको कानूनी सल्लाहकार पनि हुँ । विवेकशील साझा पार्टीको नेताभन्दा पनि म मेडिकल शिक्षाको सुधार चाहने व्यक्ति हुँ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग डा.केसीका माग र अनशनका विषयमा अनौपचारिक कुराकानी भइरहेको अर्यालले जानकारी दिए ।
Comments