Sajhamanch Archive

मिसन रिबिल्ड नेपालद्वारा शिवगञ्जमा खाद्यान्न वितरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगन्जमा खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी खाने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् भनी सामाजिक उत्तरदायित्व सम्झेर खाद्यान्न वितरण गरेको संस्थाका अभियन्ता डा. मदन उप्रेतीले जानकारी दिएका छन् ।

पहिलो चरणमा शिवसतासी नगरपालिका अन्तर्गत वडा नम्बर ६ का ६० परिवारलाई गत १ अप्रिलमा सम्बन्धित परिवार समक्ष पुगी चामल, तरकारी र दाल वितरण गरेको उप्रेतीले बताएका छन् । उद्योग वाणिज्य संघ शिवसतासी पनि यो अभियानमा सरिक भएको र अप्रिल ३ तारिखसम्ममा उक्त वडाका १७५ परिवारलाई राहत वितरण गरिएको बताइएको छ ।

राहत वितरणमा स्थानीय युवाहरुले सहजीकरण गरेको सहजकर्ता तथा श्री जनआदर्श माविमा कार्यरत शिक्षक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार पहिलो चरणमा मास्क पनि वितरण गरिएको तर बजारमा मास्कको अभाव भएको कारण पछिल्लो चरणमा मास्क वितरण गर्न सकिएको छैन । स्थानीय सरकार अन्तर्गत सम्बन्धित वडा कार्यालयले सुचिकृत गरेका २५० परिवारका ९२५ जना गरिब, पिछडिएका र मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने संस्थाको लक्ष्य रहेको जनाइएको छ ।

खाध्यान्न वितरणमा स्थानीय वडा कार्यालय, जनप्रतिनिधि, रेडक्रस सोसाइटी शिवसतासी तथा स्थानीय युवाहरुले सहजीकरण गरेको सहजकर्ता शिक्षक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । खाध्यान्य वितरणका लागि मिसन रिबिल्ड नेपालले अमेरिकामा अनलाइन डोनेसनमार्फत रकम संकलन गरिरहेको छ । न्यूनतम ५ हजार डलरले मिसन पूरा गर्ने लक्ष्य लिइएको उक्त कोषमा चार दिनभित्रमा करिब २ हजार २०० अमेरिकी डलर जम्मा भइसकेको जनाइएको छ । मनकारी दाताहरुलाई सहयोग गर्न मिसन रिबिल्ड नेपालको वेभ साइटमा गएर अनलाइन डोनेसन गर्न सकिने पनि आव्हान गरिएको छ ।

प्रचारप्रसारमा ओझेल परेको यो संस्थाले २०७२ को विनाशकारी भुकम्पबाट पीडितहरुको लागि सिन्धुपाल्चोकमा करिब ८५० वटा घर र एउटा विध्यालय निर्माण गरिसकेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *