Sajhamanch Archive

सीमावर्ती नाकाबाट प्रहरीको आँखा छल्दै यसरी भित्रिन्छ, लागुऔषध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । लागुऔषध कारोबारीहरु सीमावर्ती नाकामा खटिएका प्रहरीको आँखा छल्दै लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका छन् । झापाको काँकरभिट्टासहितका विभिन्न नाकामा खटिएका प्रहरीको आँखा छल्दै कारोबारीले भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउन सफल भइरहेका हुन् ।

एउटा पक्राउ परे, अर्कोलाई लगाउने, त्यो पनि पक्राउ परे नयाँ मान्छे खोज्ने । लागुऔषध तस्करले यस्तै विकल्प खोजी–खोजी पूर्वी नाकामा लागुऔषध तस्करीको सञ्जाल फैलाइरहेका छन् । भारतीय बजारबाट लागुऔषध नेपाल भित्र्याउन काँकरभिट्टासहितका विभिन्न नाका कारोबारीले प्रयोग गर्दै आइरहेका छन् । प्रहरीसँग भएको तथ्याङ्कले नै देखाउँछ, जिल्लामा लागुऔषध कारोबारीहरुको सक्रियता झन्–झन् बढ्ने क्रममा छ ।

लागुऔषधको कारोबार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरी यसमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ । जबकि, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउनेहरु चाहिँ अरु नै हुन्छन् ।

‘उनीहरुको सञ्जाल ठूलो र बलियो हुँदोरहेछ’, झापाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्रकुमार वस्नेत भन्छन् ‘गोपनीयताको हकमा पनि उनीहरुको बलियो भरोसा हुँदोरहेछ। त्यसैले जरासम्म पुग्न प्रहरीलाई समस्या छ ।’ उनले भने जस्तै लागुऔषधका कारोबारीहरुले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निष्फिक्री कारोबार चलाइरहेका छन् ।

लागुऔषधमा नफस्न स्कुलहरुमा जनचेतना दिन, रोकथामका लागि चेकजाँचमा कडाई गर्न र नियन्त्रणमा लिएकालाई कारवाही गर्न जरुरी रहेको डिएसपी वस्नेतले बताए । प्रहरीले आक्कलझुक्कल पक्राउ गरेका कारोबारीहरुको बयान तथा अनुसन्धानहरुबाटै पनि यो तथ्य खुल्छ । एक जना पक्राउ परे त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएवापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ । लागुऔषध झापा हुँदै विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

प्रहरीले झापाका विभिन्न ठाउँबाट हरेक दिनजसो लागुऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्ने क्रममा छ ।

जिल्ला प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷७४ मा लागुऔषधका १ सय ३ वटा मुद्दा दर्ता भए । त्यस्तै भर्खरै बितेको आर्थिक वर्ष २०७४÷७५ मा १ सय २६ वटा लागुऔषधका मुद्दा प्रहरीले दर्ता गरेको छ । यसले पनि जिल्लामा भएको लागुऔषध कारोवारका घटना बढेको देखाउँछ । लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीका अनुसार कारोबारीहरुले गृहिणीहरुलाई समेत लागुऔषध बोकाएको भेटिएको छ ।

‘सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ’, लागु औषध ब्यूरोका एक अधिकृतले भने ‘यसरी उनीहरुले नयाँ–नयाँ उपाय लगाएर कारोबार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।’ नाकाका प्रहरीहरुले अहिले लागुऔषधका कारोबारीका साथै लागुऔषध सेवन गर्न आउने व्यक्तिहरुलाई सोधीखोजी गरी नियन्त्रणमा लिएर कारवाही गर्न थालेको छ ।

सीमावर्ती पूर्वीनाका काँकरभिट्टा हुँदै भारतीय बजारबाट लागुऔषध सेवन गरी आउने सेवनकर्तालाई समेत प्रहरीले कारवाही गर्न थालेको हो । विगतमा प्रहरीले लागुऔषध ओसारपोसारमा संलग्नहरुको विशेष निगरानी राख्दै आएको थियो । प्रहरीको निगरानीमा लागुऔषध ओसारपोसार भन्दा पनि सेवनकर्ताहरुको संख्या बढेपछि प्रहरीले यस्तो उपाय अपनाएको हो ।

झापाका विभिन्न क्षेत्र तथा मोरङ, सुनसरी र काठमाडौँबाट समेत लागुऔषध प्रयोगका लागि भारतीय बजार पानीट्याङकी आउने संख्या बढेपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाही शुरु गरेको छ । पहिले लागुऔषध सेवन गरेर भन्दा पनि बोकेर आउने व्यक्तिहरुलाई कारवाही गरिदैँ आएको थियो । तर, यति गर्दा पनि नाकाबाट लागु औषध भित्रिने क्रम नरोकिएपछि प्रहरीले नयाँ उपाय अपनाउँदै सेवन गरेर आउने व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही गर्न थालेको छ ।

लागुऔषध प्रयोग गरेका व्यक्तिहरुले के कति मात्रामा प्रयोग गरेको छ भन्ने मापन गर्ने यन्त्र नभए पनि अनुुसन्धानमा राखेर कारवाही गर्न थालिएको छ । यस नाकाबाट इलाकाले एक सातामा ४० जना लागुऔषध प्रयोग कर्ता र मापसे गर्ने व्यक्तिहरुलाई जिल्ला प्रशासनलाई जिम्मा लगाएको छ । जसमा २ महिला रहेका छन् । उनीहरुमध्ये सबै भन्दा धेरै लागुऔषध प्रयोग कर्ता हुन् । यसैगरी मादक पदार्थ सेवनकर्तालाई समेत प्रहरी टोलीले नियन्त्रणमा लिएर कडा कारवाही गर्न थालेको छ ।

मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने तथा अशान्ती मच्चाउने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनलाई नै बुझाउने गरेको छ । यी दुवै प्रकृतिका घट्नामा कारवाही भएका व्यक्तिहरुलाई जिल्ला प्रशासनले अब उप्रान्त प्रयोग नगर्ने सर्तमा जनही एक हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म धरौटीमा छोड्ने गरेको छ । यसरी धरौटी तिर्न नसक्ने व्यक्तिहरुलाई जिल्ला कारागारमा पठाइने गरेको छ ।

जसमा एक सातामा धरौटी बुझाउन नसक्ने ६ जना जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाकाले जनाएको छ । लागुऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी अभियन्ताहरु पनि झापा हुँदै अन्यत्र ओसारपसार हुने लागुऔषध र कारोबारीको संख्या धेरै भएको बताउँछन् । ‘झापामा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन्’, अभियन्ता नरेश वोगटीले भने ‘तर, झापामै धेरै कारोबारी पनि छन् । यसको अर्थ हाम्रो जिल्ला ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ ।’

उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार जना कारोबारी समात्दैमा भत्काउन कठिन छ । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागुऔषधका लागि प्रयोगकर्ताहरु महँगै दाम हाल्न पनि राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *