Sajhamanch Archive

विभूतिले पनि सुरु गर्यो अनलाइन कक्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापाको भद्रपुरमा अनलाइन मार्फत भिडियो अनलाइन शिक्षण सुरू गरिएको छ । शिक्षक र विद्यार्थी बीच दोहोरो सम्वाद हुने गरी भद्रपुर १० स्थित विभूति विद्या मन्दिरले इन्टरनेट कक्षा मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरेको हो ।

लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीको सिकाइ उपलब्धी कायम राख्न विद्यालयले इ क्लास सञ्चालन गरेपछि घरबाटै सिकाइ प्राप्त गरी सयौं विद्यार्थी लाभान्वित भएका छन् । इन्टरनेटको पहुँच तथा प्रविधिको ज्ञान हुने सवै विद्यार्थी सहभागी भएर सिक्न पाउने भिसी प्रविधिले लगडाउनको उपयोग सिकाइमा रूपान्तरण हुन सक्ने देखिएको छ ।
एक हजार व्यक्तिहरूले एकै पटक भाग लिन सक्ने यस प्रविधिको उपयोग देशमै पहिलोपटक विद्यालय शिक्षणमा गरिएको दावी सञ्चालकहरूको छ ।

परिक्षण शिक्षणमा एक पटकमा ३० जना विद्यार्थी प्रत्यक्ष जोडिएर सफल शिक्षण गरिरहेको विद्यालयले आफ्नो शिक्षण दायरा बढाउने सोच समेत राखेको छ । भिडियो रेकर्ड वा अडियो रेकर्ड मार्फत घरमा रहने विद्यार्थीका लागि शिक्षण कार्य पुरानै शिक्षण प्रविधि भए पनि यो प्रविधि भने विद्यार्थीहरूका लागि नयाँ अनुभव बन्न सफल भएको छ ।

सरकारको निर्देशन अनुसार इ क्लास सञ्चालन गर्न विद्यालयले सोच राखेको भए पनि प्रविधिको उपयोग गर्ने तरिका खोजिगरिरहेका बेला शिक्षक निकाश पाण्डेले जुम एप्प तथा भर्व एप्पको सहयोगमा आफ्ना विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई ग्रुप डिभिजन गरेर शिक्षण परीक्षण गरेपछि सफल भएको हो । यस एप्पमा एकै पटक सयौं विद्यार्थीले भिडियो मार्फत जोडिएर शिक्षण सिकाइ कृयाकलापमा भाग लिन सक्ने शिक्षक पाण्डेले जानकारी दिए ।

चैत्र २६ गतेबाट सुरू भएको भिडियो कन्फ्रेन्स शिक्षणमा विहान र बेलुका गरी दैनिक २ घण्टा विद्यार्थीले लाभ लिइरहेको विद्यालयका एकेडमिक डाइरेक्टर पुरूषोत्तम लम्सालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कक्षा ११ र १२ का विद्यार्थी लक्षित इन्टरनेट कक्षा सञ्चालित भइरहेको छ । लकडाउन बढ्दै गए अन्य कक्षाका विद्याथीका लागि समेत यस प्रविधि मार्फत शिक्षण गर्ने तयारी भइरहेको लम्सालले जनाएका छन् ।

इन्टरनेट कक्षामा सहभागी विद्यार्थी अश्विन खनालका अनुसार यस प्रविधि मार्फत विद्यालयमै बसेर अध्ययन गरेभन्दा भिन्न अनुभव नहुने रहेछ । उनका अनुसार विद्यालयमा धेरै विद्यार्थी एकै ठाउँ रहँदा हल्ला हुन सक्ने भए पनि अनलाइन मार्फत जोडिदाँ हल्लाखल्ला नभइ सिक्न पाइने रमाइलो अनुभव भएको छ ।

विद्यालयका प्रिन्सिपल गोविन्द लम्साल यस प्रविधि मार्फत प्रत्यक्ष शिक्षक विद्यार्थी जोडिएर नेपालमै औपचारिक कक्षा सञ्चालन हुन सकेको छैन भन्दै आफ्नो विद्यालयबाट नयाा प्रविधि शुत्रपात भएको बताउँछन् । उनले यस प्रविधिको अनुसरण गर्न सके सवै विद्यालयका विद्यार्थी लाभान्वित हुने जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *