Sajhamanch Archive

कोभिड–१९ प्रभावित अष्ट्रेलियाका विद्यार्थीहरुका लागि एक्सपर्टको दुई लाख डलरको कोष

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी पठाउने चर्चित परामर्शदातृ संस्था एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले दुई लाख अष्ट्रेलिय डलर (करिब डेढ करोड रुपैयाँ)को कोभिड–१९ एक्सपर्ट सहयोग कोष स्थापना गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्ययनका लागि अष्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका नेपाल प्रमुख खेम संग्रौलाले भनेका छन्, ‘एक्सपर्टद्वारा परोपकारी गतिविधिका लागि सञ्चालित एक्स्पर्ट फाउण्डेसनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड–१९ एक्सपर्ट सहयोग कोष स्थापना गरेका छौं । यसले कोभिड–१९ बाट प्रभावित अन्तर्राष्ट्रिय विद्यार्र्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने हामीले आशा गरेका छौं ।’

एक्स्पर्ट फाण्डेसनले आज प्रकाशन गरेको प्रेसनोटमा भनिएको छ, एक्सपर्टमार्फत् अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुप्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभूत गर्दै यो कोषबाट एक लाख ५० हजार अष्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तराष्ट्रिय विद्यार्थीहरुको सहयोगमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरु मार्फत सहयोग गर्ने गरी ५० हजार अष्ट्रेलियन डलर छुट्याइएको छ ।

कोरोनाका कारण विश्वकै जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको तथा सिङ्गो मानवजाति नै अहिले असहज परिस्थितिबाट गुज्रिरहेको अवस्थाप्रति उक्त संस्था चिन्तित रहेको जनाइएको छ । सो मानवीय कोषबाट पछिल्लो ६ महिनायता अष्ट्रेलिया आएका विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अष्ट्रेलिया आउनेलाई सहयोग गर्ने नीति बनाइएको पनि उल्लेख छ ।

अष्ट्रेलियामा रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजमार्फत अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परोपकारी संस्थाले पहिलो प्राथमिकतामा राखेर सहयोग गर्नेछ । उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नका लागि केही सहज होस् भन्ने उद्देश्यले हाम्रो विभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत् उक्त कोषबाट सहयोग गरिने प्रेसनोटमा जनाइएको छ ।

उक्त सहयोग आवश्यक हुनेले फाउण्डेसनको निम्न लिङ्कमा https://eevs.co/covid19-assistance गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यता सम्बन्धी जानकारी लिन सकिने जनाइएको छ । कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा निम्नानुसार ठेगानामा [email protected] इमेल गर्न सकिने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *