आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान
Published:
by .भद्रपुर । आर्मी हुँ, व्यारेकमा मेसको काम गर्छु, भन्दै हिड्ने एक व्यक्तिलाई जिल्ला अदालत झापाको आदेशमा जेल चलान गरिएको छ ।
म आर्मी हुँ, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ बर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाको आदेशमा कारागार चलान गरेको हो ।
उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिका समेत गरी १० जनाबाट जम्मा रु. ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रवार रु। ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । सोही माग बमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनले पसलेहरुलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँ अनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उहाँको भनाई छ । राउतका नाममा मोरङ्ग, सुनसरी, उदयपुर लगायतका बिभिन्न जिल्लाहरुमा समेत मुद्दा दर्ता भएको छ । भद्रपुर नगरपालिका १० निवासी उनलाई गत चैत ६ गते काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको थियो ।
Comments