Sajhamanch Archive

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अपील

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,
नमस्कार ।

हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अवधिसम्म तपाईंहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धिरताको अपेक्षा गर्दछु ।

अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिमा दुई ठाउँबाट वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ ।  आजसम्म ३८७ जनाको परीक्षण भइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधि र्यापिट डाइग्नोष्टिक टेस्ट (आरडिटी)बाट पनि द्रुत गतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु । आरडिटी प्रविधिबाट अहिलेसम्म हाम्रो प्रदेशमा दुई हजार ८१ जनाको परीक्षण गरिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउँदछु ।

हालसम्म ५३ स्थानमा ४४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २५३ ठाउँमा ४ हजार ४४९ वटा क्वारेन्टिन बेड बनेका छन् । यी बनेका क्वारेन्टिनमा ६७६ जनालाई राखिएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टिनमा तीन हजार १११ जना रहनु भएको छ ।

दाजुभाइ तथा दिदी बहिनीहरु,

हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको संक्रमण देखापरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्ने क्रममा कोरोना संक्रमण देखापरेको हो । ११ जना भारतीय नागरिक र दुईजना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखापरेको छ । उहाँहरुलाई अहिले उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वाससहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं । यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ । हामीले उच्च सतर्कता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै हामीले थप सजगता र सावधानी अपाउनु पर्नेछ । त्यसैले तपाईंहरुले लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनु हुनेछ ।

म दाजुभाइ दिदी बहिनीहरुलाई आग्रह गर्दछु, तपाईहरु धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईंहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताबद्ध भएको खण्डमा हामीहरु कोरोनालाई जित्न सफल हुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं । धन्यवाद ।

 

शेरधन राई, मुख्यमन्त्री

प्रदेश १

२०७७ वैशाख, ७

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *