Sajhamanch Archive

शिखर साकोसमा रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु

Published: in अर्थतन्त्र, सहकारी by .

बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले डिजिटल कारोबारलाई थप प्राथमिकता दिँदै रियल टाइम बैंक ट्रान्सफरको सेवा पनि थालेको छ । सदस्यहरुलाई प्रविधिमा जोडेर संस्थाले मोवाइल बैकिङ, क्युआर कोड प्रणाली, एसएमएस सेवा लगायतका विधिबाट डिजिटल कारोबारको सेवा प्रवाह गर्दै आएको हो ।

आजको विषम परिस्थितिमा सरकारले डिजिटल कारोबारलाई पनि प्राथमिकता दिएको सन्दर्भमा शिखर साकोसले आजबाट रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु गरेको हो । घरमै बसेर शिखर साकोसका सदस्यहरुले आफ्नो खाताबाट अन्य बैकको खातामा सजिलै पैसा पठाउन सकिने प्रविधि सुरु गरेको छ ।

पछिल्लो समयमा सदस्यहरु पनि डिजिटल कारोबारमा रुचि राख्न अग्रसर भएका संस्थाका अध्यक्ष दिपेन्द्र राउत बताउँछन् । ‘घरमा नै बसेर मोवाइलबाट नेपालभरका बैंकमा सजिलै पैसा पठाउन पाउनु यो बेलामा अत्यन्तै राम्रो कुरा हो’ संस्थाका सचिव हिमालय प्रसाई भन्छन्, ‘सदस्यहरुलाई कसरी बढीभन्दा बढी सेवा सुविधा दिन सकिन्छ भन्ने विषयमा शिखर साकोस हरदम लागिरहन्छ ।’

संस्थाले आईटी समितिसमेत बनाएर सदस्यहरुलाई प्रविधि सम्बन्धी तालिमहरु उपलव्ध गराउने गरेको जनाइएको छ । समितिका संयोजक किरण पौडेलका अनुसार सदस्यहरु मोवाइल बैकिङ बारे जान्न र सिक्न अत्याधिक उत्सुक रहेका छन् ।

संस्थाले विगत केही वर्षदेखि नै मोवाइल बैकिङलाई प्राथमिकतामा राखेर सदस्यहरुलाई शिक्षित बनाउँदै आएको छ । संस्थामा दैनिक कारोबार गर्ने सदस्यहरुमध्ये एक हजार हाराहारीले मोवाइल बैकिङ चलाउने तथा एसएमएस सेवा लिने व्यवस्थापक लीलानाथ रेग्मीले जानकारी दिएका छन् ।

हाम्रो टेक्नोलोजीको सहकार्यमा एमबैंक मार्फत कारोबार गरेको शिखर साकोस सहकारीको भिडमा छुट्टै पहिचान बनाएको टेक्नोलोजीका सञ्चालक सञ्जय महासेठ सुनाउँछन् । देशमा यस्तो महामारी हुँदा संस्थाले प्रविधिमार्फत सदस्यहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नु राम्रो अभियान भएको महासेठको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *