कोशी अस्पतालमा ३० जना कोरोना संक्रमित, सात दिन खटिएर डाक्टर नै क्वारेन्टाइनमा
Published: (Updated: )
by .विराटनगर । शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ ।
उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।
‘प्रदेश १ सरकार पहिलेदेखि नै तयारीमा थियो, अस्पताल तयार भएकाले उपचारमा सहज भएको छ,’ उनले भने, ‘यो अस्पतालको क्षमता ५० बेडको भए पनि ७५ जनासम्मलाई राखेर सहज रूपमा निगरानी र उपचार गर्न सकिन्छ । अस्पतालको क्षमताभन्दा आधा बढी संक्रमित अस्पतालमा भर्ना भइसकेका छन् ।
एकै पटक १२ जनामा कोरोना संक्रमण देखिएपछि रातारात उदयपुरबाट एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा चिकित्सक आतिए पनि अहिले अवस्था सुधार भएको छ । संक्रमितको उपचार र रेखदेखमा खटिएको साता भएकाले अहिले उच्च मनोबलसाथ चिकित्सक र अन्य कर्मचारी खटिएका कोशी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट संगीता मिश्रले बताइन् ।
‘शुरुमा रातारात संक्रमित ल्याउँदा चिकित्सक आफूलाई तयारी अवस्थामा राख्न शारीरिक र मानसिक रूपमा केही तयारी नभए पनि हामीले विस्तारै सबै कुरा सहज बनाएका छौँ,’ उनले भनिन् ‘अहिले सबै चिकित्सकको ‘टिमवर्क’ राम्रो छ ।’
संक्रमितको रेखदेख र उपचारमा अस्पतालमा २६ जनाको चिकित्सक टोली खटिएको छ । त्यसमा पाँच जना विशेषज्ञ डाक्टर छन् । फिजिसियन दीपक सिग्देलको नेतृत्वमा नर्सिङ स्टाफ, पारामेडिक्स र प्राविधिक टोली खटिएको मिश्रले जानकारी दिइन् । डा. सिग्देलको टोलीमा डा. भूपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण र डा. प्रमोद साह छन् ।
‘नेपालका अन्य अस्पतामा भर्ना भएका कोरोना संक्रमित निको भएर घर फर्किएको र उनीहरूको अवस्था सामान्य देखिएको सुन्दा र देख्दा यहाँ खटिने चिकित्सक र संक्रमितको मनोबल उच्च छ’, मिश्रले भन्छिन्, ‘कोही आतिएका छैनन् ।’
चिकित्सकको समय निर्धारण गरिएकाले कसैलाई कामको बोझ नभएको उनको भनाइ छ । कोरोना विशेष अस्पतलामा चार जना ‘अनडिउटी’ (६ घण्टा) मा हुन्छन् भने एक जना ‘डाक्टर अन कल’ मा बस्छन् ।
शनिबारबाट नयाँ टिम अस्पतालमा खटिएको छ । बैशाख ५ बाट खटिएका चिकित्सकको टोली अब २१ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछि चिकित्सकको पनि कोरोना परीक्षण गरी नेगेटिभ भेटिए पुनः काममा फर्काउने तालिका मिलाइएको छ । पहिलो तहमा खटिने चिकित्सक र कर्मचारी राख्न नजिकै रहेको इस्टन स्टार होटललाई क्वारेन्टाइन बनाइएको छ ।
होटल सञ्चालक भविष श्रेष्ठले आफ्नो होटललाई क्वारेन्टाइन बनाउन प्रदेश सरकारलाई दिएकाले त्यहाँ चिकित्सकका लागि क्वारेन्टाइन बनाइएको प्रदेश सरकारले जनाएको छ । ‘चिकित्सकलाई नजिकै पनि हुन्छ, अस्पतालमा कोही आगन्तुक नहुने भएकाले हामीले चिकित्सकका लागि सो होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेका हौँ,’ मुख्यमन्त्री शेरधन राईले भने ।
भारतसँग सीमा जोडिएको र खुला सीमाना धेरै रहेको प्रदेश भएकाले कोरोना संक्रमणको उच्च जोखिमको आकलन गर्दै प्रदेश १ सरकारले एक सातामै नेसनल टेडिङको भवनमा १० वटा भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो ।
यो अस्पतालको क्षमता पुरा भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितलाई राखिनेछ । यहाँ सय बेडको कोरोना संक्रमितको उपचार गर्ने संरचना तयार पारिँदैछ । सो अस्पतालको पुनःस्थापना केन्द्रलाई कोरोना विशेष अस्पताल बनाइँदैछ ।
यसैवीच, कोरोना विशेष अस्पतालामा संक्रमित थपिन थालेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । यसअघि अस्पताल सुरक्षामा प्रहरी मात्रै परिचालन गरिएको थियो । जिल्ला सुरक्षा समिति मोरङको बुधबारको बैठकपछि अहिले सेना र प्रहरी खटेका छन् ।
आवश्यकता अनुसार मोरङको थलाहास्थित सेनाको सूर्यदल गणबाट अस्पतालमा सेना परिचालन गर्न सकिने सो गणका प्रमुख सेनानी रघु पौडेलले बताए । अन्नपूर्ण पोष्टबाट
Comments