Sajhamanch Archive

स्थानीयबासीको राहत र उद्धारमा हल्दिबारी गाउँपालिका

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

हल्दिबारी । झापाको हल्दिबारी गाउँ कार्यपालिकाले हिजो आकस्मिक बैठक सञ्चालन गरेर दुई हजार ७०८ परिवारलाई दोस्रो चरणको राहत बाँड्ने र काठमाडौमा अलपत्र परेका व्यक्तिहरुलाई घर फर्कने व्यवस्था मिलाउने निर्णय गरेको छ । वैशाख १५ गते गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको बैठकले उक्त निर्णयहरु गरेको गाउँ कार्यपालिकाका सदस्य तथा प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् ।

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनको समयावधि थप हुँदै गइरहेको सन्दर्भमा गाउँपालिकामा रहेका अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने र असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई लकडाउनको अवधिभरका लागि पुग्ने खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिने निर्णय भएको छ ।

जसअनुसार वडा न. १ का ४१४, २ का एक हजार २३५, ३ का २९४, ४ का ५०१ र ५ का २६१ गरी दुई हजार ७०८ परिवारहरुलाई ३ वटा प्याकेजमा राहत वितरण गरिनेछ । ५ जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल र १ केजी आयोडिनयुक्त नून पहिलो प्याकेजमा राखिएको छ ।

दोस्रो प्याकेज ३ देखि ५ जनासम्म सदस्य रहेको परिवारका लागि २० केजी चामल, २ केजी दाल, ढेड लिटर खानेतेल र १ केजी नून दिइनेछ भने २ जनासम्म संख्या रहेको परिवारका लागि १५ केजी चामल, १ केजी दाल, १ लिटर खानेतेल र १ केजी नूनको प्याकेज तय गरिएको छ ।

यसैगरी, गाउँपालिकाले आफ्नो पालिकाभित्रका नागरिकलाई घर ल्याउने व्यवस्था मिलाउने भएको छ । काठमाडौंमा मजदुरी गर्न, वैदेशिक रोजगारमा जान र मेडिकल परीक्षण गर्न तथा लकडाउन घोषणा हुनुभन्दा अघि विभिन्न कामको सिलसिलामा काठमाडौ गई उतै थुनिएर हाल अलपत्र परेका बासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालय झापासंग आवश्यक समन्वय गरी यथाशीघ्र घर फर्कने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसरी गाउँ फर्किएर आउनेहरुको स्वास्थ्य परिक्षण गरी नियमानुसार क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राख्ने प्रवन्ध पनि गाउँपालिकाले मिलाउने निर्णय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *