Sajhamanch Archive

किसानको पीडाः तरकारी बारीको उत्पादन गाई बस्तुलाई दाना

Published: in समाज, by .

झापा । उत्तरी झापामा उत्पादित तरकारी जन्य उत्पादन बिक्री नभएपछि किशानले गाई बस्तुलाई आहारा बनाउनु पर्ने बाध्यता आइ लागेको छ ।

बन्दाबन्दी लम्बिदै गएपछि बारीका तरकारी बिक्री हुन नसकेर कुहिन थालेपछि किशानले गाई बस्तुलाई आहाराका रूपमा दिन थालेका हुन् । उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यन्न ढुवानी हुने सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था आएको हो ।

बुद्धशान्ति ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठका अनुसार त्यस वडामा मात्र २ सय विगाह बढी क्षेत्रफलमा लगाइएको तरकारी जन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था आइसकेको छ । कृषकहरूले विभिन्न सहकारी तथा व्यक्तिगत लगानीमा गरेको तरकारी खेतीबाट सयौं परिवारले जीवन धानिरहेको बताउँदै श्रेष्ठ भारतीय बजारबाट साग सब्जी नेपाल भित्रिरहेको भए पनि नेपाली साग सब्जीले बिक्री हुने ठाउँ नपाएको कृषक श्रेष्ठ गुनासो गर्छन् । श्रेष्ठका अनुसार स्थानीय सरकारले समेत कृषको समस्या नसुनिदिँदा बारीमै तरकारी कुहिने अवस्था आएको हो ।
शान्तिनगर क्षेत्रका कृषकले लगाएको टमाटर बारीमै कुहिन थालेपछि गाई बस्तुलाई खुवाउन थालेका छन् । कृषकका बारीमा लटरम्म पाकेका टमाटर समयमै खरिद गर्न व्यापारी नआएपछि किशानले कुहाएर फाल्नुभन्दा घरमा पालेका गाई बस्तुलाई दानाका रूपमा खुवाउन थालेका हुन् ।

तरकारी तथा सुपारी खेतीमा प्रसिद्ध बुद्धशान्ति गाउँपालिकाका अधिकाम्स कृषकको नगदेबाली मानिएको शान्तिनगरको तरकारी जन्य उत्पादन बिक्री नभएपछि बारीमा कुहिन थालेको छ । सवारी आवगमन पूर्ण बन्द रहेकाले व्यापारिक समूहले जोखिम मोलेर कृषकका बारीसम्म तरकारी खरिद गर्न जान नमानेपछि सयौं बिगाह क्षेत्रफलका तरकारी जन्य उत्पादनलाई कृषकले पालेका गाई बस्तुका आहारा बनाउनु पर्ने बाध्यता आइलागेको छ । विर्तामोडमा रहेको सब्जी मण्डी बन्द भएपछि थोक खरिदकर्ता नपाएका तरकारी किशानका उत्पादन बारीमै सडिने अवस्था आएको हो ।

सरकारले चैत ११ गतेबाट कोरोना संक्रमण नियन्त्रण गर्न गरेको बन्दाबन्दीले शान्तिनगरका कृषकले व्यावसायिक रूपमा उत्पादन गरेको तरकारी बिक्री हुन छाडेको छ । वडा नम्बर ५ र ६ का कृषक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । तर, बारीमा लटरम्म फलेका टमाटर बिक्री नहुँदा कृषक चिन्तामा छन् । उनीहरुले उत्पादन गरेको टमाटर बारीमा कुहिन थालेपछि गाईलाई खुवाउन बाध्य भएका हुन् ।

बुद्धशान्ति गाउँपालिका ६ का प्रेमसागर चापागाईंले १५ कठ्ठामा टमाटर लगाएका छन् । उनले टमाटर पाक्न थालेपछि सुरू भएको लकडाउनले टमाटर बिक्री नहुँदा समस्या भएको बताए । उनले टमाटर बिक्री हुन छाडेपछि गाईलाई खुवाउन थालेको बताए । उनले भने, ‘लकडाउनले गर्दा बजार पठाउन पाइएन, टमाटर पाकेर बारीमा कुहिन थाल्यो, छिमेकीलाई बाँडौ भने सबैको बारीमा पाकेर उस्तै छ, उपाय नभएर गाईलाई खुवाएको हो ।’

बन्दाबन्दीले किसानलाई ठूलो नोक्सान गरेको उनले बताए । आम्दानी हुने बेलामा लकडाउन भएपछि सबै लगानी र परिश्रम डुबेको बताए । उनले दुखेसो पोख्दै भने, ‘अढाइ तीन लाख लगानी गरियो, जम्माजम्मी अढाइ तीन सय आम्दानी ।’
बुद्धशान्ति ६ कै गंगाप्रसाद ढुङ्गेलको समस्या पनि उस्तै छ । बारीमा टमाटर पाकेको छ तर बिक्री हुँदैन । उनी पनि बस्तुलाई नै खुवाउन बाध्य छन । उत्पादित टमाटर बिक्री गर्न नभएपछि दोस्रो लटको टमाटरको बिरुवालाई सिहार गर्न जागर मरेको बताउँछन् बुद्धशान्ती ६ का अर्का कृषक राजेन्द्र भट्टराई ।

बन्दाबन्दी कति समय लम्बिने टुङो नभएपछी दोस्रो लटको उत्पादनपनि बिक्री नहुने हो कि भन्ने डरले बिरुवको सिहार गर्न अलमलमा परेको भट्टराईले बताए । पहिलो लटको त लगानी डुब्यो, दोस्रो लटको पनि लगानी डुब्ने हि कि भन्ने चिन्ता छ, उनले भने, ‘गरौँ त लगानी नै डुब्ने डर, नगरौँ त कलकलाउँदो बिवालाई लथालिङ्ग कसरी छोड्नु’ ?

स्थानीय सरकारले विपन्नलाई राहत दिए पनि उत्पादन बिक्री गर्न नपाएका कृषकलाई राहतको कुनै प्रवन्ध नगरिएकोमा कृषकले गुनासो गरेका छन् । बुद्धशान्तिका तरकारी कृषक केशव पुलामीले सरकारले कृषकलाई पनि राहत दिनु पर्ने बताए । उनले भने, ‘सरकारले कि कृषकको तरकारी बिक्री गर्ने प्रवन्ध गर्नु पर्यो, होइन भने राहत दिनु पर्यो ।’ शान्तिनगरमा धान खेत मासेर कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अन्नबाली जस्तो तरकारी धेरै दिन राख्न नमिल्ने, चाडै खपत गरिहाल्नु पर्ने भएकाले लकडाउनमा कृषकले नोक्सानी व्यहोरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *