Sajhamanch Archive

मिनाक्षी गांगुलीः नेपाललाई माया गर्ने अधिकारकर्मी

Published: in विश्व समाचार, समाज, by .

नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लंघनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् । उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोधमात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदाङ्गो पारेकी थिइन् । उनी हुन् ह्युमन राइट्स वाच, दक्षिण एसिया क्षेत्रीय निर्देशक मिनाक्षी गांगुली ।

उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकटरुपमा बुझेकी अधिकारकर्मी हुन् । हाल विश्वव्यापी महामारीकारुपमा कोभिड–१९ को संक्रमण फैलिएको सन्दर्भमा नेपालमा आमनागरिकको मानवअधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् । नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुने गरेका छन् । उनले विगतमा नेपालस्थित भुटानी शरणर्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसाका विरुद्धमा सशक्त आवाज उठाउँदै आएकी छन् । भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको कमी, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा गम्भीर आवाज उठाएकी थिइन् । जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा उनको स्वर सशक्त थियो । महिला र बालबालिका माथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् ।

अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कूल अफ इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् । ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमासमेत कार्य गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *