Sajhamanch Archive

झापाका उद्योगी व्यवसायीद्वारा प्रधानमन्त्री, मुख्यमन्त्री, जिसस प्रमुख र प्रजिअलाई ज्ञापन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाका उद्योग तथा बाणिज्य संघहरुले उद्योगी–व्यवसायीका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री, मुख्यमन्त्री, जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

१० बुँदे मागसहितको ज्ञापनपत्र शुक्रवार भद्रपुरमा एक कार्यक्रमकाबीच उद्योग तथा वाणिज्य संघका अध्यक्षहरुले जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हस्तान्तरण गरेका हुन् । जिसस प्रमुख पोर्तेल र प्रजिअ राना मगरमार्फत छुट्टाछुट्टै रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापन पत्र पठाइएको छ । आफ्ना माग समयमै पूरा नभए सबै उद्योग व्यवसायका तालाचावी सरकार र बैंकहरुलाई बुझाएर आन्दोलनमा उत्रन बाध्य हुने उद्योग तथा वाणिज्य संघहरुले चेतावनी दिएका छन् ।  ‘आन्दोलनमा उत्रनु पर्ने बाध्यात्मक अवस्था आए त्यो क्षण अकल्पनीय हुने अग्रिम स्मरण गराउँदछौंं’– ज्ञापन पत्रमा भनिएको छ ।

कोभिड –१९ महाभारी नियन्त्रणका लागि भएको लकडाउनबाट सबैभन्दा बढी पीडित र ठूलो क्षति उद्योग –व्यवसायले व्यहोरेको तथा कतिपय उद्योग व्यवसाय कहिल्यै उठन नसक्ने गरी डुब्न लागेका उनीहरुले जनाएका छन् । ‘बैंकको व्याज बढ्दो छ । उद्योगी व्यवसायी प्रताडित र उनीहरुमा मानसिक समस्या उत्पन्न हुन थालेको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘यो अवस्थामा मुलुकमा धरासायी बनेका उद्योग–व्यवसाय टिक्न सक्ने वातावरणका लागि ब्याज तथा कर छुट, राहत लगायतका विशेष प्याकेज घोषणा गर्न सरकार समक्ष माग गर्दछौं ।’

विकसित तथा विकाशोन्मुख सबै प्रकारका मुलुकका सरकारले उद्योग व्यवसाय टिकाउनका लागि खर्बौं रुपैयाँका राहत प्याकेज घोषणा गरेको स्मरण गराउँदै ज्ञापन–पत्रमा लेखिएको छ ‘हाम्रो मुलुकमा सरकार र माहतहतका प्रतिनिधिबाट बैंक व्याज नघट्ने, उद्योगी व्यवासायीलाई कुनै पनि विषयमा छुट नहुने, बरु कर बढ्ने अभिव्यक्ति आउँदा हामी थप पीडित बनेका छौं ।’

विश्वव्यापी महामारी कोभिड –१९ को चपेटा र लम्बिदो लकडाउनका कारण समस्यामा परेका विपन्न मजदुरको खालीपेट भर्ने कार्य होस् या त विभिन्न तहका सरकारले स्थापना गरेका राहत– उपचार कोषमा निजी क्षेत्रको अग्रणी योगदान रहेको उनीहरुले सरकारलाई स्मरण गराएका छन् ।  तर, निजी क्षेत्र सरकार र मातहका निकायबाट सबैभन्दा बढी ऊपेक्षामा परेको उनीहरुको गुनासो छ । कोभिड –१९ नियन्त्रणका लागि विभिन्न तहमा बनेका संयन्त्र र त्यसले गर्ने निर्णयहरुमा निजी क्षेत्रको प्रतिनिधित्व नगराइएकोमा समेत आपत्ति जनाइएको छ ।

‘उद्योग व्यवसाय खोल्ने र बन्द गर्ने निर्णय हुन्छ, अनुगमन हुन्छ तर तिनै उद्योग व्यवसायको नेतृत्व गरिरहेको उद्योग तथा वाणिज्य संघहरुलाई सहभागिता गराइनु त टाढाकै कुरा हो निर्णयहरु जानकारी समेत गराइँदैन’ उद्योगी व्यवसायीको दुखेसो छ ‘निजी क्षेत्रबाट लिने मात्र अनि उसका कुनै पनि समस्या नबुझ्ने नसुन्ने अवस्थामा हामी गुज्रिरहेका छौं ।’

अन्यौल र पीडा बढ्दै गएपछि बैशाख २३ गते बिर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा सम्वाद समूहको संयोजनमा झापाका सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश नं. १ का प्रतिनिधिको संयुक्त वैठक बसी वर्तमान अवस्थालाई सहज बनाउन विभिन्न उद्योगी–व्यवसायीका समस्या र अघि बढाउने मागहरु पहिचानसहित दश बुँदे निर्णय गरिएको उनीहरुले जनाएका छन् । उक्त निर्णयहरुलाई आफ्ना समस्या र मागका रुपमा सरकारसमक्ष प्रस्तुत गरेको जनाउँदै सरकारले समयमै उद्योगीव्यवसायीको आवाज सुन्ने र माग सम्बोधन हुने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले जिसस प्रमुख पोर्तेललाई र गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जितबहादुर कार्कीले प्रजिअ राना मगरलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा उद्योग तथा वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो । ज्ञापन पत्रको वाचन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, केशवराज पाण्डे, महासंघ प्रदेश १ समितिका सदस्य कुमारमणि पोखरेल, बलराम कार्की, प्रदेश उपसमिति सदस्य प्रकाश शिवाकोटी, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमिरिया, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाई, बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्कीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । जिसस प्रमुख पोर्तेल र प्रजिअ रानामगरले उद्योगी व्यवसायीका समस्या बारे आफूहरु गम्भीर रहेको बताउँदै माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *