Sajhamanch Archive

गुणस्तरहीन सडक निर्माणमा जिम्मेवार को ? निर्माण ठेकेदार कि निर्माणकर्ता

Published: in मुख्य समाचार, by .

बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक–जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् ।

निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ ।

मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु स्थलगत अवलोकनमा जाँदा सर्वसाधारणले सोखाले गुनासो गरेको मञ्चका अध्यक्ष धरणीधर पोखरेलले बताएका हुन् ।

टोलीले स्थलगत अवलोकनका क्रममा सो सडक खण्डको बुद्धशान्ति क्षेत्रको सडक अवलोकन गरेको थियो ।

अवलोकनको क्रममा सडकका केही ठाउँमा कमसल सामग्रीका कारण बाटो भत्किएको पाइएको थियो । स्थानीय गणेशप्रसाद निरौला, अनन्तनारायण श्रेष्ठ, ठाकुरनारायण श्रेष्ठ, शकुन्तला भट्टराई, सिताराम गौतम, रामकुमार गौतमलगायतले सडक स्तरीय नभएको बताएका थिए ।

‘सडक स्तरीय बनेको छैन’ स्थानीय शकुन्तला भट्टराईले भनिन् ‘कालोपत्रे भएको केही दिनमा नै कालोपत्रे उक्किए पछि ठेकेदारहरु आएर हत्तपत्त उक्किएको ठाउँ मर्मत गरे ।’

त्यस्तै अर्का स्थानीय सिताराम गौतमले अहिले पनि सडकको अवस्था हर्ने हो भने केही ठाउँको कालोपत्रे हातले सहजै निकाल्न सकिने बताए । उनले सो टोलीलाई सहजै हातले कालोपत्रे सडक उक्काएर पनि देखाए ।

स्थानीयले पटकपटक स्तरीय सडक नबनेको बारे धेरैतिर कुरा उठाए पनि कसैले सुनवाई नगरेको जानकारी दिएका छन् । सडकको स्तरीयताको बारे निर्माण कम्पनीलाई जानकारी गराउँदा झापाकै नमूना सडक बन्ने बताउँदै एकवर्ष भित्र बिग्रिए बनाइदिने बताउने गरेको गौतमले बताए ।

अवलोकनका लागि गएको टोलीले ठाउँठाउँमा सडक अवलोकन गर्दा आफूले प्रयोग गरेको मोटरसाइकल राखेको ठाउँमा मोटरसाइकलको स्टेण्डले समेत कालोपत्रे गरिएको सडक दबेको थियो । जसले सडकको अवस्था स्तरीय नभएको निक्र्यौल गर्न टोलीलाई पनि कुनै समय लागेको थिएन ।

सो सडक निर्माणको गुणस्तरीयता बारे जनगुनासो बढे पछि उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्षसहित सचिव बेदनिधि न्यौपाने, सहसचिव तीर्थराज पौड्याल, कोषाध्यक्ष देवकुमारी शेर्मा, सदस्य खडानन्द वाग्ले, मनोरथ तिवारी, लक्ष्मी सुवेदीलगायतको टोलीले सडकको स्थलगत अवलोकन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *