Sajhamanch Archive

राहतका दाल चामल नपाए पनि अब भोको पेट बस्न नपर्ने ३ नम्बर वडाले दियो उदाहरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । स्थानीय सरकारले लकडाउनको १५ दिनपछि झण्डै ७ हजार मानिसलाई ४ केजीका दरले चामल बाँडको एक महिना बित्यो । बिर्तामोड नगरपालिकाले उक्त चरणमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएको जनाएको थियो । नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा विभिन्न सहयोगी दाताहरु समेतबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ । तर दोस्रो चरणको राहत वितरण नहुँदा धेरै मानिसहरु भोकै पर्न थालेका छन् ।

यही पृष्ठभूमि नियालिरहेका बिर्तामोड ३ का केही सहयोगी मनहरुले भोकमरीमा पर्न लागेकाहरुलाई लक्षित गरी पाँच स्थानमा सामुहिक खाना खुवाउने कार्यक्रम संचालन गरिएको छ । ठाउँ-ठाउँमा निःशुल्क खाना खुवाउने ब्यवस्था भएसँगै खाना खान आउने विपन्नहरुको संख्या पनि दिनहुँ थपिँदै गएको पाइएको छ ।

बिर्तामोड ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो । मेची आँखा अस्पताल अगाडि वैशाख २१ गतेदेखि खाना खुवाउन शुरु गरिएको हो । यस्तै चौसठ्ठी काली मन्दिर टोलमा वैशाख २६ गतेदेखि निःशुल्क खानाको व्यवस्था मिलाइएको हो भने नयाँ समावेशी टोल र बिर्ताबजारमा २९ गतेदेखि र करेलाबारी टोलमा आजदेखि निःशुल्क भोजन वितरण थालिएको छ ।

बिर्तामोड ३ का व्यवसायी रामेश्वर मण्डलले भोकभोकै बसेकाहरुलाई विगत १० दिनदेखि खाना खुवाएको जनाइएको छ । उनले मेची आँखा अस्पताल अगाडि दिनहुँ खाना वितरण गर्दै आएका छन् । शुरुको दिन १८० जनालाई खाना खुवाएका मण्डलले आज ३४० जनालाई खाना प्रदान गरेको बताएका छन् ।

त्यसैगरी घरमा खाद्यान्न सकिएर भोकैपर्ने अवस्था आएपछि नेपाल विद्यार्थी संघका नेता सन्तोष उप्रेतीले चौसठ्ठी काली मन्दिर टोल विकास संस्थाका सुकुम्वासीहरुलाई लक्षित गरी खाना खुवाउन थालेको ५ दिन भयो । उनले पहिलो दिन २२९ जनालाई खाना खुवाएका थिए भने आज पाँचौ दिन ४८५ जनाले खाना खाएको विवरण सुनाए । ‘मैले निजी लगानीबाट यो कार्य थालेको छु र लकडाउन नहटेसम्म यो सेवा जारी रहन्छ’ उप्रेतीले भनेका छन् ।

त्यसैगरी नयाँ समावेशी टोलमा हिजोदेखि आसपासका विपन्नलाई खाना खुवाउन थालिएको छ । सामुहिक खाना खुवाउने कार्यक्रमका लागि नविन शिवाकोटी, उदयशंकर शाह, नरेश शाह, अफरोज खान, सन्तोष राउत, संजयकुमार शर्मा, नारायण शाह, राजेन्द्र सिंह, रेनुका थापालगायतले सक्रियता देखाएका छन् ।

हिजैबाट थालिएको बिर्ताबजारमा आज ४५० जनाले खाना खाएका छन् । हिजो २६० जनाले खाएका थिए । आजदेखि करेलाबारी टोलमा निशुल्क भोजन कार्यक्रम थालिएको छ । पहिलो दिन ३५० जनाले खाना खाएको करेलाबारी टोल विकास संस्थाका सचिव अर्जुन राजवंशीले बताए । उनले त्यो संख्या थपिदै जाने अनुमान गरे ।

बिर्तामोड ३ को पाँच ठाउँमा खाना खुवाउने कार्यक्रम संचालन गरिएको र सबै ठाउँको जोड्दा १ हजार ७०० बढीले दैनिक खाना खाने गरेको वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले विभिन्न दाताले सहयोग गरिरहेको र ती दातालाई वडा कार्यालयले समन्वय गरिदिएको जानकारी दिए । बिर्तामोड ३ मा १ हजार ४६६ घरधुरी छन् । तीमध्ये १ हजार २६ परिवार विपन्न रहेको वडा कार्यालयको तथ्यांकले देखाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *