Sajhamanch Archive

विद्यालयले पारिश्रमिक नदिएको भन्दै शिक्षक युनियनले नगरपालिकामा ज्ञापन पत्र बुझायो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले शैक्षिक वर्ष २०७६ को पारिश्रमिक भुक्तानी नपाएको भन्दै भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

बन्दाबन्दीको बाहना बनाएर नगर क्षेत्रमा रहेका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएपछि भोकमरीमा पर्ने अवस्था आएकोले पारिश्रमिक भुक्तानी दिलाइ दिन ज्ञापनपत्र बुझाएको हो ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनासम्मको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको ठहर सहित वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेर समस्या आएको जानकारी गराउँदै नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ “वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति हामी खेद प्रकट गर्दछौं । विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत्र पहिलो हप्ता भित्रै अधिकाम्स अभिभावकहरूले वार्षिक शुल्क समेत तिरिसकेका तथा शिक्षक कर्मचारीले वार्षिक कार्य तालिका अनुसार परीक्षा लिने, कपी परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गर्ने सवै काम सम्पन्न गरिसकेको भए पनि पैसा नउठेको बाहना बनाएर तलव दिन आनकान गर्ने कार्य नैतिक रूपमा पनि पतनोन्मुख घटना हो ।”

त्यस्तै ज्ञापनपत्रमा लेखिएको छ —भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको पाउनु पर्ने पारिश्रमिक अविलम्ब भुक्तानी पाउनु पर्ने हाम्रो माग हो । संस्थागत विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खटिने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट टाढा बस्न आग्रह गर्दछौं । हामीबाट काम लिएर नाम कमाउने सञ्चालकहरू हाम्रै रगत पसिनामाथि लात हान्ने कर्ममा लाग्नु बिडम्वना हो ।

अध्यक्ष द्रोण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना र सचिव खिलनाथ पाण्डे निकासले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा—नेपाल सरकार तथा संस्थागत विद्यालय सञ्चालकहरूको साझा संगठन प्याब्सन, एन प्याब्सन र अभिभावक संघको केन्द्रीय समिलेले समेत शिक्षक कर्मचारीले पाउनु पर्ने पारिश्रमिक नरोक्न दिएको निर्देशन बिरूद्ध भद्रपुरका अधिकाम्स संस्थागत विद्यालय उभिएको घटनाले राज्यको नीति नियम र संगठनको मार्गदर्शनमाथि पनि प्रहार गर्न खोजिएको हो कि भन्ने हाम्रो ठहर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *