Sajhamanch Archive

प्रदेश १ मा कोरोना शङ्का गरिएका १० हजार बढीको परीक्षण गर्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

मोरङ । प्रदेश १ मा कोरोना भाइरसका शङ्कास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा १० दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्नु आवश्यक रहेको बताए ।

छिमेकी देश भारतले रेल सेवा सञ्चालन गरेलगत्तै भारतमा रहेका १० हजार बढी नेपाली प्रदेश १ मा प्रवेश गर्ने देखिएकाले परीक्षण बढाउनुपर्ने देखिएको उनले बताए । तीर्थ यात्रामा गएकाहरु र श्रममा गएकाहरु रेल सञ्चालनमा आएलगत्तै प्रवेश गर्ने मन्त्री घिमिरेको दाबी छ ।

कोरोना भाइरस शङ्कास्पदको अहिलेसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट परीक्षण हुँदै आएकोमा अब पुलिङ विधि पनि अपनाउनुपर्ने देखिएको मन्त्री घिमिरेले बताए । हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न मन्त्रालयले सात सदस्यीय विज्ञ टोली गठन गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा. डा. वसुधा खनालको संयोजकत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरिएको हो । समिति सदस्यमा डा. सुरेश मेहता, जयवेन्द्र यादव, डा. कमाना शर्मा, डा. सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई तीन दिनभित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिइएको छ । यसैबीच सामाजिक विकास मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र उपचारका लागि निर्देशिका निर्माण गरी काम गरिरहेको जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *