Sajhamanch Archive

टेलरिङ व्यवसायका मजदूरलाई भोकै राख्दैनौं, काम बिहीन रहेपनि खाना खुवाउँदैछौं

Published: (Updated: ) in अन्तर्वार्ता, अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, by .

टेलरिङ्ग व्यवसायमा पछिल्लो अवस्था कस्तो छ ?

टेलरिङ्ग क्षेत्रमा फागुन महिनासम्म अत्याधिक बिजनेस हुने समय हो । चैत सुरु भएदेखि १५ गतेसम्म आराम गर्ने समय मानिन्छ । हामी चैत १५ बाट विद्यालय तथा विवाहका पोशाकका लागि काम गर्दै गरेको अवस्थामा हुन्थ्यो । तर पछिल्लो समय कोरोना सन्त्रासका कारण देशभर लकडाउन गरिएपछि विद्यालय बन्द हुनुका साथै विवाहका कार्यक्रमहरु पनि स्थगित हुन पुगेका छन् । जसका कारण यो सिजनमा विवाहका लागि आएका बुकिङहरु पनि धमाधम रद्द भएकाले हामी टेलरिङ्ग व्यवसायीहरुको व्यापार जेठ महिनासम्म नै डामाडोल भएको अवस्था छ । यो समय हामी व्यवसायीहरु पिक सिजनका रुपमा मान्छौं । तर कोरोनाका कारण लकडाउन भएकाले पछिल्लो समय व्यापार पनि छैन । मजदूरहरुले काम नपाउँदा हामी आर्थिक भारमा परेको अवस्था छ । त्यति मात्र नभएर काम बन्द भएपछि मजदूरहरु घर जान पाएनन्, अधिकांश टेलरिङ्ग मजदूरहरु भारतका छन् । उनीहरु लकडाउनका कारण घर जान नपाएको अवस्थामा हामीले उनीहरुको दैनिक खानाखर्च पनि सहयोग गर्नुपर्ने अवस्था छ । त्यसैले हामी व्यवसायीहरु दोहोरो मारमा परेका छौं ।

लकडाउनका कारण टेलरिङ्ग व्यवसायमा आएका चुनौतीहरु के हुन सक्छन् ?

सबैभन्दा पहिले त आर्थिक व्ययभार ठूलो चुनौती रहेको छ । व्यापार नभएपछि आफ्नो व्यवसाय सञ्चालनमा लिएको कोठाको भाडा तिर्न, मजदूरहरुलाई तलब दिन नपाएको अवस्था छ । लकडाउनले गर्दा आगामी वर्षका लागि बनाएका योजनाहरु पूरा हुन नसक्ने भएका छन् । यो समय विभिन्न विद्यालय, सङ्घ–संस्था, कम्पनीहरुले नयाँ कपडाहरु बुकिङ गर्ने समय हो । हामीले भारतका कम्पनीहरुमा कपडाहरु बनाउन दिए पनि लकडाउनका कारणले गर्दा कपडा छाप्ने काम सुरु भएको नै छैन । जसका कारण हातमा आएका धेरै बिजनेसहरु गुम्ने अवस्थामा छन् । यो महामारीले गर्दा हाम्रो व्यवसायलाई पुनः पहिलेकै स्थानमा ल्याउन ६ महिनाभन्दा बढी समय लाग्ने अवस्था छ । त्यतिमात्र नभएर पहिलेको जस्तो व्यापार गर्न भने धेरै गाह्रो छ । पहिले जस्तो मान्छेले विवाहमा धेरै मान्छे बोलाएर गर्दैनन् । आफ्ना घरमा विवाह हुँदा सबै आफन्तहरुलाई कपडा दिने चलन थियो, अब त्यसमा कमि आउने सम्भावना छ । त्यसैले यो वर्ष हामीले टेलरिङ्ग व्यवसायमा धेरै चुनौती खेप्नुपर्ने अवस्था देखिएको छ ।

टेलरिङ क्षेत्रमा कार्यरत तर अहिले कामबिहीन मजदूरहरुले कस्तो प्रतिक्रिया जनाएका छन् र उनीहरुको समस्याहरुलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

मजदूर साथीहरुले हामी व्यवसायीलाई नैतिक समर्थन गरिरहेका छन्, हामीलाई त्यति साह्रो प्रेसर गरेका छैनन् । उनीहरुको पेट भोको छैन तर नेपालमा भन्दा पहिले भारतमा कोरोना संक्रमण बढी फैलिएकाले परिवारको चिन्ताले उनीहरुलाई सताएको छ । लकडाउनका कारणले उनीहरु घर जान पाएनन् । उनीहरु झन् बढी समस्यामा परेको अनुभूति गर्न सकिन्छ । नेपालमा मजदूरी गरेको पैसा आफ्ना परिवारलाई हप्ता, १५ दिनमा घरमा पठाउँथे । तर अहिले काम नभएकाले आफैं समस्यामा रहेकाले खर्च पठाउन पाएनन् । आफ्नो पेट जसोतसो पालिरहेका त छन तर परिवारको भोको पेट सम्झेर उनीहरु बढी चिन्तित देखिन्छन् ।

टेलरिङ्ग व्यवसायमा गोटागन्ती हिसाबले ज्यालादारी गर्ने मजदूर हुन्छन् । त्यसैले व्यवसाय नै ठप्प भएपछि मजदूरहरुले हामीलाई पैसा माग्ने कुरा पनि भएन । आफ्नो व्यवसायमा संलग्न मजदूरलाई आर्थिक उपार्जनका लागि काम दिन नसके पनि भोकै मर्नुपर्ने अवस्थाको न्यूनीकरण गरिरहेका छौं । टेलरिङ मजदूरहरु भोकै छैनन्, भोकै रहन दिँदैनौं । लकडाउनले गर्दा सिलाइको काम नभएको र व्यापार नभएकाले हामी नै समस्यामा परेकाले उनीहरुलाई आर्थिक सहयोग गर्न भने असमर्थ छौं ।

लामो अवधिको बन्दाबन्दीबाट टेलरिङ व्यवसायमा आएका समस्याहरुका बारेमा सरोकारवालालाई जानकारी गराउनु भयो कि छैन ?

हामीले हाम्रो समस्या सम्बन्धित निकायमा राखिरहेका छौं । जस्तैः टेलरिङ व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताभई काम गर्नु भन्ने आदेश छ । तर हामी जस्तो परम्परागत शैली र सिमित स्रोत साधनबाट सञ्चालित व्यवसायीले भ्याटको खातापाता राख्न र अन्य प्राविधिक कार्य गर्न बढी खर्च लाग्ने हुँदा यो धान्न सकिँदैन भनेका छौं । हामीले प्रदेश सरकार र संघीय सरकारका अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौ । यसमा पुनः विचार हुनेमा हामी ढुक्क छौं । गत वर्षदेखि सुरु भएको बिना धितो सहुलियत ब्याजको ॠणको निरन्तरताको मागसमेत राखेका छौं ।

गोर्खा टेलरिङमा तपाईंले अन कल सर्भिस सुरु गरेको कुरा सामाजिक सञ्जालमा पढियो । यो अन कल सर्भिस भनेको के हो ?

लकडाउनको अवधि बढ्दै जाँदा व्यवसायिक क्षति व्यहोरिरहेको प्रतिष्ठानले यो प्रतिकूल अवस्थामा पनि अब बिस्तारै आफ्नो व्यवसायलाई अघि बढाउँदै लैजानु पर्छ भन्ने उद्देश्यले अन कल सर्भिसको अवधारणा ल्याएको हुँ । यो मेरो नितान्त व्यक्तिगत सोच हो । वैशाख, जेठजस्ता महिनाहरु बिवाहको लगनको बेला भएकोले कसैले थोरै खर्चमा विवाह गर्न चाहेको अवस्थामा यो सिस्टमले काम गर्नसक्छ भन्ने लागेर यो सेवा आरम्भ गरेको छु । ग्राहकले हामीलाई फोन सम्पर्क गर्नुहुन्छ, हामी उहाँहरुको अर्डर अनुसारको पहिरन घरमा नै तयार गरेर राखिदिन्छौं । जुन सेवाबाट धेरैजना लाभान्वित पनि हुनुभएको छ । आम ग्राहकको बुझाईमा सबैतिर लकडाउन भएकोले आफूले चाहेको सेवा लिन सकिन्न कि भनेर अप्ठ्यारोमा रहेका ग्राहकलाई यसले सेवा दिनेमा हामी ढुक्क छौं ।

कोरोना सन्त्रासकै बीचमा पनि अब आफ्नो व्यवसाय कसरी सञ्चालन गर्नुपर्ने रहेछ भन्ने पाठ सिक्नु भएको छ ?

कोरोनाको कहरमा गरिएको लकडाउन नेपालमा मात्र होइन, विश्वका धेरैवटा देशमा कायम छ । यसले विश्वकै अर्थतन्त्रलाई नराम्ररी गाँजेको छ र लकडाउन सधैंभरि गर्न पनि हुन्न । यसैले मानवीय स्वास्थ्यको ख्याल गरेर जारी गरिएका लकडाउनका बीचमा पनि सचेततापूर्वक व्यवसाय गर्ने वातावरण बनाउँदै लैजानु पर्छ । यो सन्त्रास अझै केही वर्ष कायमै रहने निश्चितजस्तै रहेकाले टेलरिङ ब्यवसायीले पनि स्वास्थ्य सचेतता अपनाएर मजदूरलाई काममा लगाउनु पर्छ । मानिसका आधारभूत आवश्यकताको सूचिमा पर्ने ‘नाना’ को ब्यापारमा सरकारले पनि खुकुलो नीति लिनुपर्छ ।

गोर्खा टेलरिङको भावी योजना केही बनाउनु भएको छ ?

आगामी दिनमा गोर्खा टेलरिङलाई अझ विश्वशनीय बनाउँदै सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने सोच रहेको छ । गोर्खा टेलरिङ कम्पनी भएकोले निकट भविष्यमा सङ्घीय राजधानी काठमाडौमा यसको मुख्य शाखा खोल्ने तयारीमा छौं । यसले पूर्वी नेपाल र राजधानीमा रहेका आम ग्राहकलाई सेवा दिनेमा हामी विश्वस्त छौं । साथै अनलाइन व्यवसायबाट विश्वभर रहेका नेपालीहरुलाई सेवा दिने सोचमा रहेका छौं । जुन अहिले पनि थोरै परिमाणमा गरिरहेका छौँ ।

अन्त्यमा केही भन्नु हुन्छ कि !?

विश्व महामारी कोरोनाको कारण सबैतिर भयावह स्थिति रहेकाले सबै व्यवसायी एवम् नागरिकले संयमता अपनाएर सरकारले भने अनुसारका मापदण्डमा रहेर काम गर्ने र जीवन जिउँने गरौं । स्वास्थ्य रहनु मानिसको पहिलो प्राथमिकता भएकोले यसमा कमजोरी नगरौं र आर्थिक व्यवस्थापनलाई सही रुपमा परिचालन गरौ । टेलरिङ्ग क्षेत्रमा उत्पन्न समस्या एवम् चुनौतीका बारेमा विचार धारणा राख्ने मौका दिनु भएकोमा साझामञ्च डटकमलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु ।

प्रस्तुतिः उमेश खतिवडा/हरिकृष्ण भण्डारी

(नेपाल टेलरिङ्ग व्यवसायी महासंघ झापाका महसचिव विरु दर्नाल बिर्तामोडस्थित गोर्खा टेलरिङ्ग कम्पनीका सञ्चालक हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *