Sajhamanch Archive

सिमानामा काँडेतार वा पर्खाल लगाउँः सांसद पवित्रा निरौला खरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले नेपालको अन्तर्राष्ट्रिय सिमानामा पर्खाल अथवा काँडेतार लगाउनका लागि बजेट छुट्याउन सरकारसँग आग्रह गरेकी छिन् । सत्तारुढ नेकपाकी सांसद निरौलाले प्रि–बजेट छलफलमा सरकारसँग यस्तो आग्रह गरेकी हुन् ।

आफूले थाहा पाएदेखि नै नेपाल–भारत सीमा समस्या सुन्दै आएकाले त्यसको नियन्त्रणका लागि जरुरी भएको सांसद निरौलाको भनाइ थियो । उनले भनिन्, ‘सीमा समस्याको कारण पीडाबोध भइरहेको छ । हामीले थाहा पाइरहेको अवस्थादेखि सीमामा हालसम्म विभिन्न समस्या आइरहेका छन् । त्यसकारण सिमानामा पर्खाल वा काँडेतार लगाउन बजेट छुट्याइयोस् ।’

त्यस्तै, सातवटै प्रदेशमा ठूला अस्पताल निर्माण गर्न पनि बजेट छुट्याउनुपर्नेमा खरेलको जोड छ । ती अस्पतालमा कोरोनाका बिरामीलाई जाँच गराउन सकिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । प्रदेशमा मात्रै होइन, १६५ वटै निर्वाचन क्षेत्रमा कोरोना भाइरसका बिरामीका लागि आइसोलेसन र क्वारेन्टाइन बनाउन पनि बजेट छुट्याउन उनको सुझाब छ ।

७७ वटै जिल्लामा एक–एक सय बेडको अस्पताल बनाउन पनि उनले सुझाब दिइन् । उनले टेकु अस्पतालका जस्ता ल्याब अरू ठाउँमा पनि निर्माण गर्नुपर्ने बताइन् ।

कृषिलाई पनि बजेटले समेट्नुपर्ने खरेलको भनाई थियो । चिया, सुपारी, अलैँचीजस्ता वस्तुहरूको पर्याप्त उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने वातावरण निर्माण हुनुपर्ने पनि उनले बताइन् । त्यस्तै, अतिविपन्न र सीमान्तकृत महिलाको उत्थानका लागि संघ र स्थानीय तहले व्यावसायिक तालिम दिनुपर्नेमा उनको जोड थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *