Sajhamanch Archive

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु,स्थानीयमा त्रास

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

सिन्धुपाल्चोक । काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् ।

थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न सुरु गरिएको छ । मृतक महिलाको सम्पर्कमा आएका करिब ५५ जनाको पहिचान खुलेकाले उनीहरुको स्वाव संकलन गर्न थालिएको हो ।

सम्पर्कमा आएको अन्यको पनि खोजी भइरहेको छ । पहिलो चरणमा महिलाको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको परिक्षण गरिने छ भने भने त्यसपछि दोस्रो चरणका व्यक्तिहरुको परिक्षण गरिने स्वास्थ्य कार्यालय चौताराका प्रमुख दुर्गादत्त चापागाईंले बताए ।

स्थानीयमा त्रास

महिलाको मृत्यु भएपछि बाह्रबिसे बजारसहित स्थानियमा त्रास फैलिएको छ । पटक पटक फरकफरक गाडीमा बाह्रबिसे आएका कारण दोस्रो व्यक्तिबाट पनि संक्रमण फैलिएको हुनसक्ने डर स्थानीयमा छ ।

बाह्रबिसे बजारमा खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि १० बजेसम्म र हार्डवयेर पसल बेलुकी ४ देखि ६ बजेसम्म खुला रहने गरेकोले सो समयमा संक्रमण फैलिएको हुनसक्ने स्थानीयवासीमा त्रास छ ।

कस्तो छ घटना ?

ब‌ैशाख २३ गते काठमाडौं महाराजगन्ज स्थित टिचिङ अस्पतालमा छोराको जन्म दिएकी उनी २५ गते एम्बुलेन्स चढेर गृहनगर बाह्रबिसे आएकी थिइन् । उनी काठमाडौंदेखि भक्तपुर, काभ्रेपलान्चोक सहित सिन्धुपाल्चोक विभिन्न स्थानमा रहेका हेल्थ डेस्कहरुमा स्वास्थ्य परिक्षण गराउँदै बाह्रबिसे ९, राम्चेस्थित आफ्नो घरमा पुगेकी थिइन ।

विभिन्न नाकाहरुमा चेकजाँच गर्दै घर पुगेकी उनलाई एक्कासी श्वासप्रश्वास मा समस्या आएपछि जेठ १ गते प्राथमिक स्वास्थ केन्द्र बाह्रबिसेमा जाँच गराएकी थिइन । सोही दिन धुलिखेल अस्पतालमा उनको मृत्यु भएको थियो ।

उनी काठमाडौंबाट बाह्रबिसे रेडक्रसको एम्बुलेन्स मार्फत घर आएकी थिईन् भने एक पटक स्वास्थ्य जाँचकै लागि फरकफरक बोलेरो गाडीमा बाह्रबिसेको निजी मेडिकलमा उपचार गराएकी थिइन । जेठ १ गते पनि बोलेरोमै बाह्रबिसे आएकी उनी अबेर मात्र रेडक्रसको एम्बुलेन्समा धुलिखेल गएकी थिइन । धुलिखेल पुगेको करिब आधा घण्टामा उनको निधन भएको थियो ।

जेठ १ गते चौतारा टुंडिखेलमा जिल्लामा विपद् व्यवस्थापन समिति, रेडक्रस र नेपाली सेनाले सब‌ै एम्बुलेन्समा जिपिएस सिस्टम जडान गर्ने र कोरोना लागेमा एम्बुलेन्समा उद्दार गर्नेदेखि उपचार शव व्यवस्थापन गर्ने अवस्थासम्म हुने गतिविधि र सुरक्षाका उपायबारे बुझन् जिल्लाका सबै एम्बुलेन्सलाई चौतारा बोलाईएको थियो ।

सोही कारण एम्बुलेन्स नपाएर महिलालाई बेलैमा अस्पताल लान नसकिएको मृतकका श्रीमानले बताएका छन् । बाह्रबिसेमा एक्सरे गर्दा नै महिलाको फोक्सो एकदमै खराब अवस्थामा रहेको देखिएको र तुरुन्तै काठमाडौं वा धुलिखेलको लागि रिफर गरिएको थियो ।

तर एम्बुलेन्स नभएको कारण बेलुकी ७ बजे मात्रै बाह्रबिसेबाट एम्बुलेन्स चढेर ९ बजे मात्रै धुलिखेल पुगेका थिए र त्यहीँ उनको मृत्युु भएको थियो ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *