Sajhamanch Archive

चन्द्रगढी खानेपानीमा उपभोक्तालाई छुट, विपन्नलाई राहत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० ले आफ्नो उपभोग्य क्षेत्र भद्रपुर ७, ८ , ९ र १० वडाका अतिविपन्न परिवारका लागि ५ लाख ५० हजार रुपैयाँ हाराहारीको खाद्यान्न सहयोग गरेको छ । उपभोक्ता समितिले बन्दाबन्दी कारण दैनिक गुजारामा समस्यामा परेका परिवारका लागि १० टन चामल, दाल १ टन र नून १००० पोका नून वडा कार्यालय मार्फत राहत वितरण गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अतिविपन्न परिवारलाई राहत प्रदान गर्न यस्तो सहयोग दिइएको समितिका सचिव बाबुराम कार्कीले जानकारी दिएका हुन् । समितिले वैशाख र जेठ महिनाको पानी महशुलमा २० प्रतिशत छुट दिने, विलम्ब शुल्क नलिने, विभिन्न क्वारेन्टिन स्थलमा शुद्ध पिउने पानीका लागि निशुल्क धारा जडान गर्ने, सार्वजनिक स्थलमा खानेपानी पहुँचका लागि धारा जडान गर्नेजस्ता सामाजिक काम पनि गरिरहेको सचिव कार्कीले बताएका छन् ।

त्यसैगरी समितिको कार्यालयमा १० कुइन्टल चामल जगेडामा राखेर छाक टार्न समस्यामा परेका अति विपन्नको पहिचान गरेर आपतकालिन खाद्यन्न सहयोग समेत गरिरहेको जनाइएको छ । समितिको चैत्र र बैशाख महिनाको आम्दानी शून्य भए पनि जगेडा कोष मार्फत खर्च व्यवस्थापन गरिएको व्यवस्थापक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार समितिले २४ सै घण्टा उपभोक्ताको घरघरमा पानी पुग्ने गरी व्यवस्थापन गरिएको छ ।

सचिव कार्कीका अनुसार जेठ मसान्तभित्र महसुल बुझाउने उपभोक्तालाई समितिले वैशाख र जेठ महिनाको महसुलमा एकमुष्ठ २० प्रतिशत छुट दिने निर्णय गरेको जनाए । समितिले सूचना जारी गरी उपभोक्तालाई महसुल छुटबारे जानकारीसमेत गराएको छ । संस्थाले जेठ १ गतेदेखि मिटर रिडिङ र महसुल संकलनको काम पनि सुरु गरेको र बिहान ८ देखि ११ सम्म महसुल काउन्टर खुला रहने जनाइएको छ ।

समितिले उपभोक्तालाई पानी महशुलमा शतप्रतिशत छुट दिने विकल्पको सट्टा अति विपन्नका लागि गाँस जुटाउन खाद्यन्न सहयोग मार्फत बन्दाबन्दीको दुष्प्रभाव बिरूद्ध सरकारलाई सहयोग गरेको जनाएको छ । विपन्न पहिचानका लागि नगर सरकार मार्फत वडा कार्यालयसँग समन्वय गरी सहयोगका काम गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *