Sajhamanch Archive

नेपालमा आज भलिबल दिवस

Published: in खेलकुद, लोकप्रिय by .

झापा । तात्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

तात्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयक मै यसलाई समावेश गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल हुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिसंग प्रमाणिकरणका लागि पुग्ने प्रक्रियामा छ ।

प्रस्तावित विधेयक राष्ट्रिय खेलको विषयमा मौन बनेपनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गर्न जोड गरेका थिए । सोही अनुसार संसदीय समितिले संशोधनको क्रममा भलिबललाई राष्ट्रिय खेलको रुपमा विधेयकमा समावेश गरेको थियो ।

भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल संघले समेत तिव्र लबिङ गरेको थियो । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडि आएको छ । प्रतियोगिताको संख्यात्मक वृद्धिले समेत भलिबलको लोकप्रियता र सम्भावना घरेलु खेलकुदमा उजागर गरेको छ ।

भलिबल दिवसका अवसरमा यसवर्ष चाहिँ कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *