Sajhamanch Archive

अव्यवस्थित क्वारेन्टिन स्थल र भोजभतेर शैलीको सामुहिक खानपानले कचनकवलमा संक्रमित थपिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by .

झापा । प्रदेश १ मा आजमात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाको कचनकवलका १५ जना तथा धनकुटा र धरानका १–१ जना रहेका आज बिहान स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी जनाएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ भने झापामा मात्र २७ जना संक्रमित छन् । तीमध्ये दुईजना उपचार पछि घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

यसैबीच, दक्षिणी झापाको कचनकवल गाउँपालिकामा निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीका कारण संक्रमितको संख्या दिनहुँ बढ्दै गएको देखिएको छ । भारतलगायत तेस्रो देशबाट आएकाहरुलाई १४ दिनसम्म राख्न बनाइएका क्वारेन्टिन स्वास्थ्य निकायले तोकेको न्यूनतम मापदण्डसमेत कायम नगरी निर्माण गरिएका छन् । क्वारेन्टिन स्थलमा गरिएको खाने, बस्ने अवैज्ञानिक व्यवस्थापनबाटै कोरोना संक्रमण फैलिएको हो ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न सहज बाटो रहेको कचनकवलमा भारतलगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टिन भीडभाड बढाउने थप आधारका रूपमा विकसित हुँदै जाँदा त्यहाँ रहेका व्यक्तिमा कोरोना संक्रमण जोखिम बढेको हो ।

स्थानीयका अनुसार कचनकवलका पाठामारी, केचना र घेराबारी क्षेत्रका नाकाबाट भारतका विभिन्न शहरमा कामका लागि गएका व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका छन् । त्यहाँका स्थानीय व्यक्तिहरूले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टिनमा बस्न सुझाएअनुसार क्वारेन्टिन पुग्ने गरेका हुन् । तर, गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना संक्रमितको संख्या उल्लेख्य बढ्ने अवस्था आएको स्थानीय अब्दुल अन्सारीको भनाई छ ।

पथरिया माविको क्वारेन्टिनमा बसेका २३ वर्षीय एक युवामा सोमबार परीक्षणका क्रममा पहिलो कोरोना संक्रमण देखिएको थियो । मंगलबारको परीक्षण रिपोर्टले ९ जना थपिएका थिए भने आज बिहीबारको परीक्षण रिपोर्टले १५ जनामा कोरोना पुष्टि गरिएबो छ । योसँगैै कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।

कचनकवल नाकाभित्र शनिबार भारतको मुम्बइबाट दिल्ली हुँदै लुकिछिपी आएका ३३ जनालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएर पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुमध्ये २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रोजगारीको शिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।

कचनकवल गाउँपालिकाका विभिन्न नाकाका भारतीय सीमा क्षेत्रबाट चार दिनभित्र मात्र १४६ जना नेपाल प्रवेश गरेका छन् । मकैबारीबाट नेपाल प्रवेश गरेका भनिएका उनीहरूलाई गाउँपालिकाको सुरक्षा टोलीले ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टिनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टिन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए ।

भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक २५ जनामा संक्रमण देखिएपछि गाउँपालिका ५ दिनका लागि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय भएको बताए ।

वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित सबैसहित ३३ जना पथरिया माविको क्वारेन्टिनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित भेटिएका सबैजना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टिनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए । जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ, राजवंशीले प्रष्ट पारेका छन् ।

संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालयसमेत एउटै रहेको वडाध्यक्ष राजवंशीले बताएका छन् । ‘जम्मा दुईवटा शौचालय थिए’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टिन व्यवस्थित गर्न नसकिएको उनले जिकिर गरे ।

‘क्वारेन्टिन व्यवस्थापनमा ठूलो चुनौति रहेको छ । केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको हो । सिमावर्ती क्षेत्रका स्थानीय तहमा खुला सीमाबाट लुकिछिपी आउनेहरुका कारण हैरान भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार क्वारेन्टिनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, ब्रतबन्धमा गरिने भोज भतेरजस्तै सामुहिक शैलीको छ । ‘मिठो मसिनो के खान पाउँछन् हामीले हेरेका छैनौं, तर खाना खाने बेलामा पूरै भिडभाड देखिन्छ’ ती स्थानीयले सुनाए । एकजना संक्रमितका कारण सबै संक्रमित हुनुपर्ने अवस्था क्वारेन्टिनबाटै निर्मित भएको त्यहाँका आश्रितहरूको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *