Sajhamanch Archive

‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले तारकेश्वर नगरपालिका वडा नं.३ का ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको हो।

महाशाखाले उनलाई पेप्सीकोलाबाट पीडित सम्झना केसी भट्टराईसँग एक लाख २० हजार लिँदै गर्दा पक्राउ गरेको हो।

उनले आफू सशस्त्र प्रहरी नायब उपरीक्षक भएको बताउँदै विभिन्न व्यक्तिहरूलाई स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेका थिए।

उनले खरिदार पदको नक्कली परिचयपत्र देखाएर पीडितबाट पटक–पटक १ लाख ८५ हजार ठगी गरेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले अनसुन्धान थालेको थियो। महाशाखाका अनुसार २०७२ मा उनले निलिमा महर्जन र आकृति डंगोलसँग प्रति दुई लाखको दरले ठगी गरेको मुद्दामा चार वर्ष कैद सजाय भोगिसकेका छन्।

त्यस्तै, उनले आफू उच्चपदस्थ अधिकारीहरूको पिए भनी कारागार तथा सिडिओ कार्यालयमा फोन गरी कैदीहरूलाई रिहा गर्न आदेश समेत दिएको महाशाखाले जनाएको छ। उनले प्रहरीको उच्च अधिकृत भन्दै धम्क्याउने, लाइसेन्स दिने भनि ठग्ने, सेनाको विद्यालयमा भर्ना गराइदिने भन्दै प्रलोभनमा समेत पारेको खुलेको छ।

उनले यसअघि खोटाङ ऐंसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भन्दै पटक-पटक गरी दुई लाख समेत लिएका थिए।

प्रहरीले उनीबाट राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायब उपरीक्षकको नक्कली परिचय पत्र, दुई थान खरिदार पदको नक्कली परिचय पत्र, बा.९० प ९५५५ नम्बरको कालो रङको स्कुटर, एक थान नोकिया मोबाइल, तीन थान सिमकार्ड, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको १० थान फोटो र एक लाख २० हजार रकम बरामद गरेको हो।

महाशाखाले उनीविरूद्ध थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

सेतोपाटी