Sajhamanch Archive

कोरोनाका तेस्रो मृतकको शव आफन्तले उठाउन मानेनन्, उपचारमा अस्पतालले लापरवाही गरेको आरोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बुटवल । कोरोना संक्रमणबाट बिहीबार मृत्युवरण गरेका गुल्मीका ४१ वर्षीयको शव आफन्तले उठाउन मानेका छैनन् । अस्पतालको लापहरवाहीका कारण ज्यान गएको उनीहरुले आरोप लगाएका छन्।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेर शव उठाउन आनाकानी गरेका हुन्। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनका उपचार क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेटमा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो। जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोट दहबाट उपचारका लागि उनी क्रिमसन अस्पताल आएका थिए।

अस्पताल आउनु अघि गुल्मीको स्थानीय मेडिकल हल र अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा समेत उनले स्वास्थ्य जाँच गराएका थिए। अस्पतालले उपचार क्रममा पारदर्शिता नअपनाएको, कोभिड संक्रमण पुष्टि भएपछि नर्सिङ केअरसमेत नगरेकोलगायत मृतकका भाइले बताएका छन्।

सम्पूर्ण उपचार पद्धतिको छानबिन गरिनुपर्ने र लापहरवाहीका कारण पुष्टि भएकाले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए। ‘पहिले सबै ठिकै हुनुहुन्थ्यो। तर, परीक्षणका लागि भन्दै ढाडबाट पानी निकालियो, तर के परीक्षण गरिएको खुलाइएन,’ मृतकका भाइले भने, ‘त्यसपछि अचेत हुनुभयो। अनि भेन्टिलेटरमा सारियो।’

जेठ ५ गते कोरोना पुष्टि भएपछि उनलाई कुनै पनि किसिमको उपचार नगरी भेन्टिलेटरमा मात्रै राखिएको आफन्तको आरोप छ। संक्रमण पुष्टि भएपछि आइसियूमा नर्स र डाक्टरसमेत नगएका मृतकका भाइले बताए। संक्रमण पुष्टि भएको चार दिनपछि मात्रै अस्पतालले आफन्तलाई संक्रमितको अवस्थाबारे बुझाउन भन्दै संक्रमितलाई राखिएको आइसियूमा लगेको थियो।

अस्पतालले उपचार गरेको कुनै पनि संकेत आफूले नदेखेको मृतकका भाइले बताए। कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गरे पनि मृतकको संक्रमणको स्रोतबारे अझै अन्योल छ। संक्रमितको ट्राभल हिस्ट्री हेर्दा उनमा कोरोना संक्रमण नभएको हुन सक्ने आफन्तले आशंका गरेका छन्। उनीहरुले मृतकमा कोरोनाको पुनः जाँच हुनुपर्ने बताएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शव उठाउने विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल भइरहेको जानकारी दिए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले सबै प्रक्रिया पूरा गरेर संघीय सरकारले बनाएको गाइडलाइनअनुसार तिलोत्तमा नगरपालिकाको सहयोगमा शव व्यवस्थापन गरिने जानकारी दिए।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *