Sajhamanch Archive

निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

रौतहट । रौतहट क्षेत्र २ का निलम्बित सांसद महमद आफताब आलम हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेको अवस्थामा प्रहरीले उनको घरमा छापा मारेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेको थियोे । यो प्रकरणमा आरोपित रहेका निलम्बित सांसद आलमका भाइ महमद महताब आलम पर्वको अवसरमा लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियोे ।

छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला सुरु गरेपछि प्रहरी टोली फर्किन बाध्य भएको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियोे । घरमा महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन ।

राजपुर नगरपालिका मेयर सेख सकिलले डकैती शैलीमा मध्यरातमा प्रहरीले अनावश्यक दुःख दिएको बताए । दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व ईद उलफित्रलाई प्रभावित बनाउन प्रहरीले षड्यन्त्र गरेको मेयर सकिलले आरोप लगाए ।

यता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले आलमका भाइलगायत ३ जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारेको बताए । ‘अपराधीलाई पक्राउ गर्न साईत हेर्नुपर्दैन सूचना आउना साथ प्रहरी सक्रिय हुन्छ,’ डिआईजी सिंहको भनाइ छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *