सप्तरीका नयाँ संक्रमित पत्नीसँगै भारतबाट आएका थिए
Published: (Updated: )
by .सप्तरी । सप्तरीमा पहिचान भएका कोरोना भाइरस (कोभिड-१९)का दोस्रो संक्रमित एक साताअघि भारतबाट आएको खुलेको छ । संक्रमित युवक जिल्लाको बलान-बिहुल गाउँपालिका वडानम्बर ४ का बासिन्दा हुन् ।
वडानम्बर ४ बेल्ही भारतसँग टाँसिएरै रहेको गाउँ हो । यो वडाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार संक्रमित युवक आफ्नी पत्नीसँगै भारतबाट नेपाल आएका हुन् । भारतको चन्डीगढस्थित गुँडगाँवमा मजदुरी गर्दै आएका युवक पत्नीसहित एक साताअघि घर आएका थिए ।
घर आएपछि उनी र उनकी पत्नीलाई तत्कालै बेल्हीको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा जम्मा ४९ जनालाई रहेका छन् । उनीहरु सबै भारतबाट आएको अध्यक्ष गोइतले जानकारी दिए ।
अध्यक्ष गोइतका अनुसार क्वारेन्टाइनमा रहेकामध्ये ३५ जनाको स्वाब बिपी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिसहित ५ जनाको रिेपोर्ट आउन बाँकी छ ।
बलान बिहुल गाउँपालिकामा एकजना संक्रमित फेला परेसँगै सप्तरीमा संक्रमितको संख्या दुई पुगेको छ । यसअघि डाक्नेश्वरी नगरपालिका वडानम्बर ३ को हटैल टोलमा फेला परेका संक्रमितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
बलान बिहुल गाउँपालिकाका संक्रमितलाई पनि यही अस्पतालको आइसोलेसनमा लग्ने तयारी भइरहेको अध्यक्ष गोइतले बताए ।
अनलाइनखबर
Comments