Sajhamanch Archive

भारतबाट आउने सबै नेपालीको ब्यवस्थापन गर्ने मेचीनगर नगरपालिकाको मात्र दायित्व होइनः नगरप्रमुख आचार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

मेचीनगर । नेपालको पूर्वीनाका काँकरभिट्टा मार्ग प्रयोग गर्दै भारतका विभिन्न सहरबाट नेपालीहरु आउने क्रम बढेपछि उनीहरुको क्वारेन्टिन ब्यवस्थापन तथा गन्तब्य तय गर्न मेचीनगर नगरपालिका एक्लै सक्षम नरहेको प्रष्ट पारिएको छ ।

नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले आज पत्रकार सम्मेलन गरी नेपाली नागरिक भएको आधारमा मानवीय सहयोग गरिआएकोमा दिनहुँ सयौंको संख्यामा उनीहरुको प्रवेशलाई व्यवस्थापन गर्न नगरपालिकाको एक्लो प्रयास असम्भव रहेको प्रष्ट पारेका हुन् ।

संघीय सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समितिसहित स्थानीय पालिकाहरुको सहयोग नहुने हो भने मेचीनगरभन्दा बाहिरी पालिका र जिल्लाका नागरिकलाई व्यवस्थापन गर्न मेचीनगर बाध्य नहुने प्रष्ट पारिएको छ ।

‘हामी दिनरात नभनी आगन्तुकहरुको सेवामा जुटेका छौं तर उहाँहरुको सेवा गर्दागर्दै मेचीनगरमा कोरोना संक्रमण फैलने चिन्ता बढेको छ’ नगरप्रमुख आचार्यले भने, ‘क्वारेन्टिनको व्यवस्थापन, खानपान तथा उहाँहरुको गन्तब्य तय गर्नका लागि नगरपालिकासँग बजेट छैन । यसका लागि तीन तहकै सरकारको उत्तिकै दायित्व रहनु पर्दछ ।’

नेपाल–भारत सीमाक्षेत्रमा अलपत्र नेपाली धमाधम काँकरभिट्टा नाका भएर नेपाल आउन थालेको बताउँदै उनले काँकरभिट्टा नाकाबाट ४ दिनमै एक हजार नेपालीहरु नेपाल भित्रिसकेको जानकारी दिए ।

‘शुक्रबार नेपाल भित्रिएका मध्ये ६ महिलासहित १५ जनाको परीक्षणमा आरडीटी पोजेटिभ आएपछि मेचीनगरमा कोरोना फैलिएको केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हंगामा फैलाइएको छ’ नगरप्रमुख आचार्यले आश्चार्य मान्दै भने, ‘के यही हो पत्रकारिताको शैली ! सत्यलाई चिन्न छाडेर यथार्थ छोपेर अफवाह फैलाउने ?’ भनी प्रश्न गरे ।

मेचीनगरबासीलाई कोरोना संक्रमणबाट बचाउनु स्थानीय सरकारको दायित्व भएको स्मरण गराउँदै नगरप्रमुख आचार्यले आफ्ना नगरबासीलाई भोक र रोगबाट जोगाउन स्थानीय सरकार प्रतिवद्ध रहको बताए । मेचीनगरलाई कोरोनामुक्त बनाउनका लागि स्थानीय सरकारले गरिरहेको गतिविधिमा सबैकोे साथ सहयोगको आवश्यकता रहेको भन्दै उनले जनतामा भ्रम फैलिने खालको सूचना सम्प्रेषण नगर्न आग्रह गरे ।

नगरलाई कोरोनाबाट जोगाउन नगरपालिका प्रयत्नशील रहेको भन्दै उनले नगरबासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति सामाजिक सञ्जालमा वा अनलाइनमा पोष्ट नगर्न समेत उनले अपील गरे । नगरप्रमुख आचार्यले नगरपालिका भनेको बिमल आचार्य नभई संस्था भएकाले यसको गरिमा र प्रतिष्ठामा आँच आउने काम कसैले गर्न नहुने धारणा राखे ।

पत्रकार सम्मेलनमा बोल्दैं उपप्रमुख मीना पोखरेल उप्रेतीले नराम्रो कामको आलोचना गरिरहँदा राम्रो कामको प्रशंसा गर्न कन्जुस्याईं नगर्न सुझाउँदै कोभिड–१९ को संक्रमण शुरुभए लगत्तै मेचीनगर नगरपालिकाले संक्रमण रोकथमका लागि विभिन्न काम गरेको स्मरण गराइन् । शुरुमा तापक्रम नाप्ने काम गरेको भएपनि अहिले शंकास्पद व्यक्तिको आरडिटी आवश्यक परे पीसीआरसम्मको परीक्षणको व्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीको भनाई छ ।

झापाका १५ वटा पालिकामध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले मेचीनगर नगरपालिका ठूलो भएको भाारतको पश्चिम बंगाल राज्यसँग प्रत्यक्ष सीमा जोडिएकाले निक्कै चुनौतीको साथ अघि बढ्नु परेको उनको भनाई छ । नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र पररेर बसेका नेपालीहरुलाई स्वदेश फर्काएर सुरक्षित ब्यवस्थापनका लागि होम क्वारेन्टिन भन्दा पनि प्रत्येक वडाहरुमा क्वारेन्टिनको व्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीको भनाई छ ।

मेचीनगर बाहिरका नागरिकका लागि सम्बन्धित जिल्ला र स्थानीय तहहरुको समन्वयमा आ–आफ्नो घर पठाउन नगरले व्यवस्थापन गरिरहेको र मेचीनगर भित्रका नागरिकहरुलाई क्वारेन्टिनमा राखेरै स्वास्थ्य परीक्षण गरी घर पठाउने योजना नगरपालिको रहेको उनले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *