Sajhamanch Archive

कञ्चनपुरको गड्डाचौकी नाका खोल्ने निर्णय

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । भारतमा लकडाउन खुकुलो भएको, रेलसेवा सञ्चालन हुन थालेको वा जोखिमपूर्ण यात्रा गरेर स्वदेश फर्किने नेपालीको चाप बढेपछि यहाँको गड्डाचौकी नाका खोल्ने निर्णय भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले सोमबार आजदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका सर्वसाधारण तथा मजदुरलाई सुरक्षित रूपमा घर पठाउने निर्णय गरेको हो ।

भारतमा लकडाउन खुकुलो भएपछि नेपाल आउने प्रवासीहरुको संख्या दिनप्रतिदिन बढिरहेको जनाइएको छ । ११ जेठसम्म लुकीछिपी दुई हजार ४१ जना कञ्चनपुर पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । उनीहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाएको भएपनि अब त थामीनसक्नुको जमात आउने गरेको छ । आफ्नो जन्मभूमि आउने नेपालीलाई सीमानाकामा रोकिराख्नु उचित नहुने ठानेर जिल्ला सुरक्षा समिति कञ्चनपुरले उनीहरुलाई प्रवेश दिने निर्णय गरेको हो ।

यो क्रम निरन्तर बढेपछि जोखिम हुने ठहर गर्दै गड्डाचौकी नाका खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले बताए । ‘लुकीछिपी आउनेहरूको स्वास्थ्य परीक्षण गर्न सम्भव भएन । त्यसैले अब गड्डाचौकी नाकाबाटै व्यवस्थित रूपमा भित्र्याएर स्वास्थ्य परीक्षण गरिनेछ’ प्रजिअ खतिवडाले भने । आज सोमबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म नेपाल प्रवेश गराइने उनले बताए ।

कञ्चनपुरमा सोमबारदेखि भने लकडाउन कडाइ गरिने भएको छ । विदेशबाट आउने बढेकाले लकडाउन कडाइ गर्नुपरेको जनाइएको छ । स्वास्थ्य संस्था र औषधि पसलबाहेक अरू बन्द गरिने र यसका लागि प्रहरी परिचालन गरिने कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *